काठमाण्डौ । कृषि तथा पशुपन्छी बीमा गर्ने किसानको सङ्ख्या बढ्दै गएको बीमा समितिले जनाएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमा सुरु गरेको आर्थिक वर्ष २०७०/०७१ मा ६२ करोड ५४ लाख ४ हजार ६ सय १३ बराबरीको बीमाङ्क कायम भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा आइपुग्दा ४३ अर्ब ३० करोड ३९ लाख ३९ हजार रुपैयाँको कृषि तथा पशुपन्छी बीमा गरिएको छ । यस अवधिमा करिव २ लाख किसान आवद्ध भएको बीमा समितिको भनाइ छ । कृषि तथा पशुपन्छी बीमामा लाग्ने शुल्क मध्ये ८० प्रतिशत प्रिमियम सरकारले अनुदानमा सहयोग गर्दै आएको छ ।
गरिएका बीमामध्ये ९५ प्रतिशत अर्थात ४० अर्ब ३९ करोडभन्दा बढी पशुपन्छी र २ अर्ब ९१ करोड कृषि बीमा रहेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले सीआईएनसँग बताउनुभयो ।
बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ जारी गर्दा चार वटा बीमालेख जारी गरि बीमाको सुरुवात गरिएको थियो ।
आगलागी वा अग्नी, हुरीबतासको कारणले भएको क्षति, आँधिबेहरी वा तुफान, बेमौसमी वर्षा, असिना हिउँ, बाढी वा डुबान, खडेरी, तुसारो, शितलहर, पहिरो, रोग, किरा लगायतका कारण क्षती भएमा ९० प्रतिशतसम्म बीमा वापतको क्षतिपूर्ति प्राप्त हुन्छ ।