Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक
images

हर्ष सुब्बा, धरान, २९ असार । हिजोआज मोटर भन्ने बित्तिकै सार्वजनिक यातायातका साधन भनेर मानिसले नबुझ्न सक्छन्। भण्डै चार दशकअघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए। मोटर गाडीका व्यवसायसँग भाषा–साहित्यको कुनै साइनो हुने कुरा पनि भएन।

images
images

‘धरानको साहित्यिक इतिहासमा भने तिनै मोटर कम्पनीहरूले पहिलो स्थान ओगटेका छन्’– नेपाली लेखक संघका केन्द्रीय सदस्य भीष्म काफ्लेको भनाइ छ। धरानमा आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ति मनाउँदै बुधवार भानुभक्तको सालिक स्थापनाका दिनहरूको सम्झना गरियो। धरानमा भानु जयन्ति मनाइदै आएको भानुभक्तको सालिक र भानुचौक मोटर कम्पनीहरूले बनाइदिएका हुन्।

त्यस बेलाको भानुभक्तीय भाषा मोटरबाट गाडी, बस, सवारीसम्म आइपुगेको छ। भाषा प्रयोगमा आएको बदलाव जस्तै सलिकको रंगरोगन, सजावटहरू फेरिएका छन्। सरोकारवाला संस्थाहरू पनि फेरिँदै गएका छन्। नजिकै भएको धरान थानाको कारण बजार अड्डा भनिदै आएको ठाउँ सालिक बनेपछि भानुचौक भएको काफ्ले बताउनु हुन्छ।

२०३४ सालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गर्नुभएको सालिकको शिलान्याश भाषाशास्त्री महानन्द सापकोटाले गर्नु भएको थियो। सालिक निर्माण र स्थापनामा आर्थिक योगदान दिने मोटर कम्पनीहरूको नाम अहिले पनि शिलालेखमा देख्न सकिन्छ। ती कम्पनीहरू कोशी अञ्चल मोटर सिण्डिकेटका सदस्य कम्पनीहरू थिए।

भाषा, साहित्य, संस्कृतिको लागि काम गर्ने कुनै उद्देश्यको साइनो नभएको मोटर कम्पनी, सिण्डिकेटबाट सालिक स्थापनाको संयोग रोचक छ। यातायात व्यवसायका अर्थ विश्लेषक हिरा उदासका अनुसार सिण्डिकेटका तत्कालीन सभापति स्वर्गीय जगदिश नेपालीको जोडबलबाट भानुभक्तको सालिक स्थापना भएको हो। उदास त्यस बेला कोशी अञ्चल मोटर याातायात प्रालिका सञ्चालकहरू मध्येका हुनुहुन्थ्यो।

जगदिश नेपाली व्यवसायी मात्र नभएर एक सिद्धहस्त लघुकथाकार पनि हुनुहुन्थ्यो। ‘चान्द्रमसी’ साहित्यिक मासिकको लघुकथाकार जगदिश नेपाली विशेषांक प्रकाशित गरिसकेका सम्पादक गिरिराज आचार्य भन्नुहुन्छ ‘उहाँका लघु कथाहरू खलिल जिब्रानका जस्ता नैतिक मूल्य मान्यता प्रेरित छन्।’ रोचक तथ्य जगदिश नेपाली, भाषाशास्त्री महानन्द सापकोटाका छोरा हुनुहुन्छ। पिताको नाममा भने उहाँले केही गरेको जानकारी पाइँदैन।

ठूला उद्योग, व्यापारको क्षेत्रमा लागेका मानिसमा भाषा, साहित्य, संस्कृतिप्रति अलिकति मात्रै पनि रुचि भए ठूलै भूमिका र योगदान हुने कुरा यसबाट बुझ्न सकिन्छ। नेपाली लेखक संघका सुनसरी अध्यक्ष प्रा.डा. गोपलप्रसाद भण्डारी भन्नुहुन्छ– ‘भानुचौकको शालिकले नेपाली भाषा सहित्यप्रति सधैं सबैलाई प्रेरणा जगाउने काम गर्दै आएको छ।’

सिण्डिकेटले भानुको सालिक स्थापना गर्ने कार्य मात्र गरेन, त्यसको रेखदेख र धरानको भानुचौकमा भानु जयन्ति मनाउने कार्यको समेत थालनी गर्‍यो। सिण्डीकेटमा रामप्रसाद खनाल, इन्द्रबहादुर थापा (मगर) कवि, लेखक थिए। त्यस बेला सिण्डिकेटको सहकार्यमा कवि बन्द्र पलिखेले स्थापना गर्नु भएको बुक क्लबले भानु जयन्ति मनाउने गथ्र्यो।

पछिल्लो कालखण्डमा विशेषत: २०३६ सालदेखि सडक कविता क्रान्तिको लहर चल्यो। त्यसै बेलादेखि भानुभक्तको सालिकमै खुला रूपमा भानु जयन्ति मनाउने चलन बढेको भनाइ छ। यसै क्रममा युवा साहित्यिक जमात, सुनसरी साहित्य प्रतिष्ठान, मोति संस्मरण समिति, कवि शिरोमणी लेखनाथ प्रतिष्ठान सहितले निरन्तरता दिँदै आएको सालिकमै भानु जयन्ति मनाउने परम्परालाई केही वर्षदेखि नेपाली लेखक संघले दोहोर्‍याउँदै आएको छ।

तस्विर: १– भानु जयन्ति बुधवार विहान भानुभक्तको सालिकमा माल्यार्पण गरिँदै छ । २– शालिकस्थलमा यसको स्थापना सम्बन्धी शिलालेख । तस्विर: हर्ष।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - २२:३८:०२ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology