देवघाट, २९ असार । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित महेश संन्यास आश्रममा पाचौं गुरूस्मृति महोत्सव शुभारम्भ भएको छ । डा. स्वामी रामानन्दगिरिको पाँचौँ स्मृतिदिवसको आज पहिलो दिन आज गुरुपूर्णिमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।

आश्रमका संस्थापक अध्यक्ष सन्तशिरोमणि डा. स्वामी रामानन्दगिरिजी महाराजको पाँचौँ स्मृतिदिवस एवम् गुरुपूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा गुरुकुल एवं आश्रमका संरक्षक मधुसूदनानन्दगिरिले गुरुतत्त्वका विषयमा विवेचन गर्नुभएको थियो भने महेश संस्कृत गुरुकुल विद्यापीठका पूर्वप्राचार्य सहप्राध्यापक डा। गुरुप्रसाद सुवेदीले व्यासजयन्ती एवं गुरुपूर्णिमाको सन्दर्भमा विशेष प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गुरुकुल विद्यापीठका प्राचार्य उपप्रा। कमल सुवेदी, गुरुकुलका आचार्यहरू, अभिभावक, अन्नदाता, श्रद्धालु भक्तजन एवं विद्यार्थीहरू उपस्थिति थियो । महोत्सवको पहिलो दिन विशेष रुद्राभिषेक,व्यासपूजन, गुरुपूजन र आचार्यपूजनसँगै गुरुकुल आश्रमका दाता सहयोगीहरुलाई सम्मान गरेका थिए । यसै अवसरमा हेटौंडा निवासी बुद्धिकुमारी विडारी एवं समस्त विडारी परिवारका तर्फबाट रामानन्द अनुसन्धानकेन्द्रको कार्यालय सञ्चालनार्थ निर्मित भवनका लागि थप पाँचलाख नगदसमेत हस्तान्तरण गरिएको थियो ।

महेश संन्यास आश्रमको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन महेश संस्कृत गुरुकुलका प्रधानाचार्य उपप्रा। फणीन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो । दुई दिने गुरुपूर्णिमा तथा पञ्चम गुरुस्मृति कार्यक्रमको दोस्रो दिन असार ३० गते देशका विभिन्न आश्रमका पीठाधीश, साधुसन्त र गुरुकुलरआश्रमका वटुक एवं श्रद्धालुहरुको विशेष उपस्थितिमा गुरुभण्डारासहित औपचारिक कार्यक्रम समापन हुने पौडेलले बताउनुभयो ।