काठमाण्डौ, २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गर्नुभएको थियो ।
सो प्रस्तावको विरोध गर्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताउनुभयो । उहाँले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको आरोप लगाउनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते विधेयक दर्ता गरेको थियो ।
जन्मसिद्धका सन्तानले पनि नागरिकता प्राप्त गर्छ, आमाको नामको आधारमा ढुक्कसँग नागरिकता प्राप्त हुन्छ भन्ने विश्वास गरेर बसेका नागरिकलाइ सरकारको कामले धोका भएको उहाँको भनाइ रहेको थियो ।
त्यसैगरी नेकपा एमालेका सांसद भीम रावलले वर्तमान सरकार काम चलाउ रहेको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव संवैधानिक, कानूनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकुल रहेको दाबी गर्नुभयो । एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रस्ताव गर्नुले कानुनकै भ्रुण हत्या भएको टिप्पणी गर्नुभयो । गृहमन्त्री बालकृष्ण खाणले भने तुरुन्तै नागरिकता विधेयक ल्याइने बताउनुभएको छ ।
संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले दलहरूको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउने बताउनुभयो । नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको उहाँको दाबी रहेको थियो । यस विषयमा शीर्ष नेताहरूसँग गम्भीर संवाद भएको पनि उहाँले दाबी गर्नुभयो ।