Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रविको राजनीतिक इन्ट्री : पुराना पार्टीलाई होला त चुनौती ?

रविको राजनीतिक इन्ट्री : पुराना पार्टीलाई होला त चुनौती ?

इच्छाकामना न्युज

१०, आषाढ २०७९
रविको राजनीतिक इन्ट्री : पुराना पार्टीलाई होला त चुनौती ?
images

काठमाण्डौ, १० असार । चर्चित सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रभाव र भविष्यमाथि मन्थन भइरहेको छ । लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहबाट नयाँ पार्टीको घोषणा गरेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । वैकल्पिक राजनीतिको असफल विगत र रविको लोकप्रियता राजनीतिक बहसको कसीमा छ ।

images
images

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा घोषणा भएको रविको पार्टीप्रति युवा आकर्षण पनि देखिएको छ । यसलाई जनमतमा बदल्नु उनका लागि चुनौती छ । पार्टी घोषणापछि प्रकट भएको सद्भावलाई विचार र एजेण्डामार्फत आफ्नो जनमत बनाउन सक्नुपर्ने चुनौतीको पहाड रविसामु छ । किनभने नयाँ चिज आउँदा मान्छेमा आकर्षण र उत्साह देखिनु स्वाभाविक हो । घोषणासभामा देखिएको भीडले मात्र पार्टी र राजनीति बन्छ भन्ने छैन । त्यसको उदाहरण बाबुराम भट्टराई र रविन्द्र मिश्रलाई हेर्दा पुग्छ ।

घोषणासभा हेर्न आएकाहरुलाई पार्टीकरण वा संगठित गर्नु रविका लागि चुनौती छ । त्यसका लागि विचार, एजेण्डा, पार्टी संस्कृति र शैली अनिवार्य बन्छ । भोलि पार्टीको नेतृत्वमा को को मान्छे भन्ने कुराले पनि अर्थ राख्छ । राजनीति भनेको ‘टीम वर्क’ पनि हो । एक जना रवि लामिछाने आउँदैमा चमत्कार हुन्छ भन्ने छैन ।

पुराना दललाई कति चुनौती ?

रविको पार्टीले काँग्रेस र कम्युनिस्टलाई चुनौती दिन्छ कि दिँदैन भन्ने प्रश्न छ । पुराना पार्टीलाई नयाँ दल मैदानमा आउने कुरा चुनौती नै हो । पुरानो दलको नेतृत्व ठिक ढङ्गले अपडेट हुन सकेन भने चुनौती हुन्छ । पुराना पार्टी बदलिनुपर्छ भन्ने सन्देश काठमाडौं, धरान र धनगढीको मेयरमा स्वतन्त्रको उदयले पनि देखाउँछ ।

पुराना पार्टीले नयाँ पुस्ताको सपनालाई सम्बोधन गर्न नसक्दा स्वाभाविक रुपमा नयाँ दल चुनौतीका रुपमा खडा हुन्छ । तर चुनाव जित्नका लागि काँग्रेस र कम्युनिस्टको आफ्नै इतिहास, पृष्ठभूमि, जनमत र संगठनको शक्ति छ । त्यसलाई नयाँ दलतिर रुपान्तरण गर्नका लागि राजनीतिक र सांगठनिक रुपमा साँच्चै मेहनत गर्नुपर्ने देखिन्छ ।

रविले साँच्चै नै राजनीति गर्ने हो भने आफ्नो विचार, एजेण्डा, आफ्नो पार्टी, पार्टीको संस्कृति, पार्टीको नेतृत्व र ‘टीम वर्क’प्रतिको विश्वासलाई दस्तावेजमा राखेर अपिल गर्नुपर्छ । त्यो अपिल जनताले पत्याउँदा मात्र पुराना दलका लागि चुनौती बन्छ । यसका लागि लामिछानेले आन्तरिक रणनीति बनाइरहेका छन् । निर्वाचन आयोगमा पार्टी वैधानिक रुपमा दर्ता भएपछि दस्तावेजका साथ अपिल गर्ने तयारीमा उनी छन् ।

रविको राजनीतिक इनिङप्रति पुराना पार्टीको मत

सत्तासीन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले लामिछानेको राजनीतिक यात्रालाई आफूले चुनौतीका रुपमा लिएको बताएका छन् । ‘हामीले आफूलाई थप सुधार्न, अझ निखार्न, हामीले जितेको ठाउँ भन्नु हुँदैन,’ थापाले भने, ‘त्यस्तो कुनै पनि ठाउँ हुँदैन । आफ्नो सान्दर्भिकता पुष्टि गर्नु पर्छ । हामीले यो अवस्थालाई चुनौतीको रूपमा लिएका छौँ ।’

तर रविको राजनीतिक यात्रालाई सकारात्मक रुपमा लिनुपर्ने र प्रोत्साहित गर्नुपर्ने उनले बताए । ‘नयाँ पुस्ताका साथीहरूको राजनीतिमा आकांक्षा हुनु, हामीहरू प्रतिनिधिसभा तथा स्थानीय तहमा गएर काम गर्छौँ भन्ने कुरालाई एकदमै सकारात्मक रूपमा लिनुपर्छ र यसलाई प्रोत्साहित पनि गर्नुपर्छ,’ थापा भन्छन् ।

राजनीतिमा लाग्ने नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा महामन्त्री थापाको जोड थियो । ‘सबै तल्लो खुड्किलाबाट चढेर जाने होइन । विभिन्न पेसामा काम गरेर आएको मान्छेले बीच बाटोमा दलमा छिर्ने, आफ्नो अवसर, प्रतिभाहरूलाई प्रयोग गर्न पाउने बाटोहरू खोल्नुपर्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको टिप्पणी गरेका छन् । ‘निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले भने । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पनि राजनीतिमा रविको आगमन चुनौती नभएको बताए । उनले रातोपाटीसँग भने, ‘त्यस्तो थ्रेट महसुस भएको छैन । किनभने राजनीति भनेको विचार, दर्शन र कार्यक्रममा आधारित हुन्छ ।’

रविले राजनीतिमै ट्रायल गर्न खोजेको उनको भनाइ छ । ‘उद्यमी, व्यवसायी, कलाकार, पत्रकार राजनीतिमै भविष्य खोज्न आउने भनेपछि राजनीति अपरिहार्य रहेछ भन्ने हो नि,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा गर्नु, नयाँ विकल्प खोज्नु, विकल्प दिन खोज्नु नराम्रो होइन, राम्रो भएको छ यसले ।’

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेता डम्बर खतिवडाले सेलिब्रेटीहरुले हल्लीखल्ली गर्दैमा राष्ट्र निर्माण र युग परिवर्तन नहुने बताए । लामिछानेप्रति लक्षित गर्दै उनले राष्ट्र निर्माण र युग परिवर्तनका लागि राजनीतिक योगदान चाहिने तर्क गरे ।

‘अलिअलि नाम चलेका सेलिब्रेटीहरुले हल्लीखल्ली गर्दैमा राष्ट्र निर्माण र युग परिवर्तन हुने भए न मण्डेला ३२ जेल बस्न पर्थ्यो, न गान्धीजी आजीवन धोतीमा हिँड्न पर्थ्यो, न लिङ्कन मारिनु पर्थ्यो, न रुजबेल्टले न्युडिल ल्याउन पर्दथ्यो, न माओले लङ मार्च गर्न पर्दथ्यो,’ खतिवडाले भने । जसपाका प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले भ्रमको कुनै औषधि नहुने बताए ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछाने राजनीतिमा आउनु स्वागतयोग्य भएको भन्दै राप्रपालाई कुनै नोक्सान हुने दाबी गरे । ‘रवि लामिछानेले जुन वैचारिक धार समाएर पार्टी घोषणा गर्नुभयो, त्यसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नोक्सान गर्दैन,’ उनले रातोपाटीलाई भने । राप्रपा र रविको पार्टीको वैचारिक धार नै फरक भएको उनको भनाइ छ ।

‘हामीले संघीयता खारेजीको मुद्दा उठाएका छौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय नेतृत्वका लागि राजसंस्थालाई स्पष्टसँग अगाडि सारेका छौं । तर उहाँ संघीयताको पनि पक्षमा उभिनु भएको छ,’ लिङ्देनले भने, ‘उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्नु भएको छ । उहाँको र हाम्रो वैचारिक लाइन नै फरक छ ।’

रविको पार्टीले राप्रपाका मतदाता प्रभावित गर्न नसक्ने उनको तर्क छ । उनले भने, ‘उहाँ राजनीतिमा आउने कुराले हामीलाई केही फरक पर्दैन । राजनीतिमा रविजीको इन्ट्रीलाई मैले चुनौतीको रुपमा लिएको छैन ।’

यस्तै विवेकशील साझाका नेता रविन्द्र मिश्र र मिलन पाण्डेले आफूहरुको असफलताबाट पाठ सिक्न रविलाई सुझाएका छन् । तर नयाँ पार्टी खोलेर रवि अगाडि आएपछि विसर्जनको दिशामा रहेको विवेकशील साझा थप संकटमा परेको छ । गत स्थानीय तह निर्वाचनको निराशाजनक परिणामपछि थलिएको विवेकशील साझालाई रविको राजनीति थप चुनौती बन्ने देखिएको छ । विवेकशील साझाका केही नेताहरु रवि लामिछानेको पार्टीमा लागिसकेको बुझिएको छ ।

विगतमा बाबुराम भट्टराईले थालेको वैकल्पिक राजनीतिको प्रयोग असफल भएपछि त्यहाँ रहेका नेताहरु रविन्द्र मिश्रतिर लागेका थिए । अहिले रविन्द्र मिश्रको वैकल्पिक राजनीतिको प्रयोग विसर्जनको दिशातिर मोडिएपछि त्यहाँ भएका नेता रवि लामिछानेतिर लागेको देखिन्छ ।

विवेकशील साझाका नेता केशव दाहालले रवि लामिछाने वैकल्पिक राजनीतिको प्रतिस्पर्धामा नभइ प्रयोगका लागि मैदानमा आएको बताए । उनले रवि लामिछानेको पार्टी घोषणालाई वैकल्पिक राजनीतिको प्रयोगका रुपमा अर्थ्याए ।

‘वैकल्पिक राजनीति एउटा प्रयोग हो । नयाँ सम्भावनाको खोजी हो । त्यो प्रयोग भइरहेको छ,’ उनी भन्छन्, ‘यो राम्रो भएको छ । कुनै दिन यो प्रयोग संश्लेषण हुन्छ । त्यो दिन वैकल्पिक राजनीति स्थापित हुन्छ ।’

बाबुराम भट्टराई र रविन्द्र मिश्र असफल भएको वैकल्पिक राजनीतिको प्रयोगबाट पाठ सिक्नुपर्ने दाहालको भनाइ छ । तर लामिछानेले पार्टीमात्र घोषणा गरेको भन्दै दस्तावेज हेर्न बाँकी रहेको दाहालले बताए ।

‘उहाँको विचार के हुन्छ, उहाँको एजेण्डा के हुन्छ ? कुन राजनीतिक ग्राउन्डमा उभिनुहुन्छ ?,’ उनी भन्छन्, ‘रविजीले दिन चाहेको नयाँ के हो ? त्यो भन्न सक्नुपर्छ । विचार, एजेण्डा, पार्टीको नेतृत्व र संस्कृति कस्तो दिनुहुन्छ ? पार्टी घोषणा मात्र भएको छ । उहाँको दस्तावेज हेर्न बाँकी नै छ ।’ रातोपाटी अनलाईनबाट

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०७:५९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology