बहराइनले चीनले बनाएको कोरोना विरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ। चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्वान गरेको छ।
बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण (एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो। एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्ने विषयमा खुलाएको छैन। तर, तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ।
बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ। बहराइनले नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ।