Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

एनपीएलका अधिकांश टोलीमा विदेशी प्रशिक्षक

एनपीएलका अधिकांश टोलीमा विदेशी प्रशिक्षक

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
एनपीएलका अधिकांश टोलीमा विदेशी प्रशिक्षक
images

प्रमिला कार्की

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागी प्राय सबैजसो फ्रेन्चाइज (टोली)मा विदेशी खेलाडीसँगै विदेशी प्रशिक्षकको उपस्थिति पनि बलियो देखिएको छ । प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये ६ वटा टोलीका मुख्य प्रशिक्षक नै विदेशी प्रशिक्षक छन् । साथै सबै टोलीमा कुनै न कुनै प्रशिक्षकका रुपमा विदेशीले भूमिका निर्वाह गरिरहेका छन् ।

आफ्नो टिमलाई बलियो बनाउन विदेशी प्रशिक्षक, सल्लाहकार तथा मेन्टरलाई जिम्मेवारी दिने गरिएको हो । विश्व क्रिकेटमा अनुभव हासिल गरेका प्रशिक्षक तथा पूर्वखेलाडीलाई टोलीमा भित्र्याउने फ्रेन्चाइजहरूको प्रतिस्पर्धाले एनपीएलमा अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक प्रशिक्षणको प्रभाव बढाएको छ।

एनपीएलका अधिकांश फ्रेन्चाइजले मुख्य प्रशिक्षकदेखि प्राविधिक तथा रणनीतिक भूमिकासम्म विदेशी अनुहारलाई प्राथमिकता दिएका छन् । आठ फ्रेन्चाइजमध्ये जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्वकप्तान तथा अनुभवी ब्याटर शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गरेका चन्द्रपालको उपस्थितिले जनकपुरको ब्याटिङ रणनीति र खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। जनकपुरले नेपाली प्रशिक्षक मनोज कटुवाललाई सहायक प्रशिक्षकका रूपमा समेटेको छ । त्यस्तै, श्रीलंकाली प्रशिक्षक पुवुदु दासानायके उच्च प्रदर्शन प्रशिक्षकका रूपमा आबद्ध छन् ।

काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग पनि काम गरिसकेका देसाईसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षणको अनुभव छ। काठमाडौंले नेपाली प्रशिक्षक बसन्त शाही ठकुरीलाई सहायक प्रशिक्षक तथा प्रकाश शर्मालाई प्राविधिक सहयोगको जिम्मेवारी दिएको छ ।

त्यसैगरी,लुम्बिनी लायन्सले भारतका टिनु योहाननलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरसमेत रहेका योहाननसँग खेलाडी विकास र प्रशिक्षणको अनुभव छ। लुम्बिनीले नेपाली क्रिकेटका पूर्वखेलाडी सुवास खकुरेललाई सहायक तथा ब्याटिङ प्रशिक्षक र शक्ति गौचनलाई सल्लाहकार प्रशिक्षकका रूपमा समेटेको छ।

पोखरा एभेन्जर्सले पनि विदेशी प्रशिक्षक तथा क्रिकेटका स्थापित व्यक्तित्वलाई आफ्नो टिममा जोडेको छ । भारतका राजीव कुमार मुख्य प्रशिक्षक रहेका पोखराले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सलाई सल्लाहकार तथा मेन्टरको जिम्मेवारी दिएको छ।

विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरका रूपमा परिचित रोड्सको अनुभव पोखराका खेलाडीका लागि महत्त्वपूर्ण मानिएको छ। पोखराले नेपाली प्रशिक्षक रिजन प्रजुलाई सहायक प्रशिक्षकका रूपमा राखेको छ। यसैगरी,विराटनगर किङ्समा श्रीलंकाका पुवुदु दासानायके र धम्मिका प्रसादको नाम प्रशिक्षकको भूमिकामा जोडिएको छ। टोलीले नेपाली प्रशिक्षक लाक्पा लामालाई सहायक प्रशिक्षक तथा दीपेन्द्र चौधरीलाई टिम निर्देशक तथा प्राविधिक जिम्मेवारी दिएको छ।

चितवन राइनोजले नेपाली प्रशिक्षक कलाम अलीलाई मुख्य प्रशिक्षक बनाएको छ। भारतका उमेश पटवाल वरिष्ठ प्राविधिक प्रशिक्षक तथा नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकर सहायक प्रशिक्षकका रूपमा आबद्ध छन्। चितवनको प्रशिक्षक संरचनामा मुख्य जिम्मेवारी नेपालीलाई दिँदै विदेशी अनुभवलाई प्राविधिक पक्षमा उपयोग गर्ने रणनीति देखिन्छ।

कर्णाली याक्सले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। कर्णालीमा राजु बस्न्यात परामर्श प्रशिक्षक तथा कलाम अली सहायक वा विकास प्रशिक्षकको भूमिकामा रहेका छन्।

नेपाली क्रिकेटको अनुभवलाई आधार बनाएर टोली निर्माण गर्ने कर्णालीको प्रयासले घरेलु प्रशिक्षकको सम्भावनालाई पनि देखाएको छ। त्यस्तै, सुदूरपश्चिम रोयल्सले नेपाली प्रशिक्षक जगत टमाटालाई मुख्य प्रशिक्षक बनाएको छ। अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई टिम मेन्टर तथा रणनीतिक प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

नेपाली प्रशिक्षक विनोद दास सहायक प्रशिक्षक तथा स्थानीय सहयोगी प्रशिक्षक टोलीमा आबद्ध छन्। यसरी हेर्दा एनपीएलमा विदेशी प्रशिक्षकको उपस्थिति मुख्य प्रशिक्षकको भूमिकामा मात्रै सीमित छैन। टोलीहरूले ब्याटिङ, बलिङ, उच्च प्रदर्शन, प्राविधिक सहयोग, रणनीति र मेन्टरका रूपमा पनि विदेशी विज्ञलाई भित्र्याएका छन्।

नेपाली प्रशिक्षकलाई अवसरको प्रश्न

एनपीएलमा विदेशी प्रशिक्षकको बढ्दो उपस्थितिलाई नेपाली क्रिकेटका लागि अवसर र चुनौती दुवै रूपमा हेरिएको छ ।

विदेशी प्रशिक्षकले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पद्धति, खेल विश्लेषण, रणनीति निर्माण र खेलाडी व्यवस्थापनमा नयाँ अभ्यास भित्र्याउन सक्छन्। उनीहरूसँग काम गर्ने अवसरले नेपाली खेलाडी तथा प्रशिक्षकलाई पनि आफ्नो क्षमता विकास गर्न सहयोग पुग्न सक्छ।

विशेषगरी टी–२० क्रिकेटमा खेलको परिस्थिति छिटो परिवर्तन हुने भएकाले खेलाडीको क्षमता, विपक्षी टोलीको कमजोरी, ब्याटिङ क्रम, बलिङ परिवर्तन र फिल्डिङ रणनीतिमा प्रशिक्षकको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

अन्तर्राष्ट्रिय अनुभव भएका प्रशिक्षकको उपस्थितिले यस्ता विषयमा नेपाली खेलाडीले नयाँ कुरा सिक्ने अवसर पाउने नेपाली टोलीका अगुवाहरुको भनाइ छ । तर विदेशी प्रशिक्षकको आगमनसँगै नेपाली प्रशिक्षकलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने विषयलाई पनि बेवास्ता गर्न नहुने आवाज पनि उठिरहेको छ ।

नेपाली क्रिकेटको घरेलु संरचना, यहाँका खेलाडीको क्षमता, पिचको अवस्था र प्रतियोगिताको प्रकृतिबारे नेपाली प्रशिक्षक जानकार हुन्छन्। उनीहरूको यही अनुभवलाई व्यावसायिक क्रिकेटमा उपयोग गर्न सके नेपाली प्रशिक्षकको क्षमता र आत्मविश्वास दुवै बढ्न सक्ने अनुमान गरिन्छ ।

एनपीएलमा ज्ञानेन्द्र मल्ल, जगत टमाटा र कलाम अलीले मुख्य प्रशिक्षकको जिम्मेवारीलाई सकरात्मक मानिएको छ । उनीहरूजस्ता नेपाली प्रशिक्षकले फ्रेन्चाइज क्रिकेटमा नेतृत्व गर्ने अवसर पाउँदा भविष्यमा थप प्रशिक्षक तयार हुने आधार बन्ने अनुमान गरिन्छ ।

तर, अधिकांश टोलीमा नेपाली प्रशिक्षक सहायक वा प्राविधिक भूमिकामा सीमित हुनु नेपाली क्रिकेटको प्रशिक्षक विकासका दृष्टिले विचारणीय विषय मानिएको छ । तर एनपीएलको उद्देश्य केवल विदेशी खेलाडी र प्रशिक्षक भित्र्याएर प्रतियोगिताको आकर्षण बढाउनु मात्रै हुनु नहुने सरोकारवालाहरुको भनाइ छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १६:४६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology