Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाको प्रस्ताव : अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था

राप्रपाको प्रस्ताव : अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था

इच्छाकामना न्युज

१९, जेठ २०७९
राप्रपाको प्रस्ताव : अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था
images

काठमाडौं, १९ जेठ । राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ ।

images
images

काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने प्रस्ताव गरिएको हो,’ श्रेष्ठले बताए । 

पूर्ण समानुपातिका निर्वाचन प्रणाली लागु गर्नुपर्ने र तीन तहको संघीयता खारेज गरेर केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने बैठकले ठहर गरेको छ । यसलाई आगामी निर्वाचनमा पार्टीले जोडदार रूपमा अघि बढाउने जानकारी दिए । 

७ असारदेखि तीन दिन चल्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुसार कार्ययोजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिनेछ । 

साथै बैठकले भ्रष्टाचार, महँगी, मलखाद लगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने र आन्दोलन परिचालनका लागि बुद्धिमान तामाङको संयोजकमा समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार समिति सदस्यमा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाहीसहित प्रदेश प्रमुखहरु रहनेछन् । 


बैठकका निर्णय र निष्कर्षबारे श्रेष्ठले जारी गरेको विज्ञप्ति 

मितिः १९ जेष्ठ २०७९ 

राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनको अध्यक्षतामा जेष्ठ १८ र १९ गते धुलिखेलमा सम्पन्न पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले देहायका निर्णयहरु पारित गरेको छ । बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । 

१. स्थानीय तह निर्वाचनको व्यापक समिक्षा गर्दै प्रतिकूल परिस्थिति र प्रतिद्वन्दिताका बिच पनि राप्रपाका तर्फबाट विजयी हुने,उम्मेदवार बन्ने र मतदान गर्ने मतदाता र सक्रीयतापूर्वक परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद तथा आभार व्यक्त गर्दछ । 

२. स्थानीय तह निर्वाचनमा दुई दुईवटा गठबन्धनका वावजुद राप्रपाले एक्लै निर्वाचनमा सहभागी भएर प्राप्त गरेको सफलताले पार्टीलाई उत्साहित तुल्याएको छ । बैठकले गठबन्धन तथा तयारी समयको अभाव के कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको छ । तथापी पार्टीको लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार भएको छ । स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको छ । 

३. मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा अघि बढाइनेछ । 

४. आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरू समयमै छनौट गर्न उपयुक्त हुने ठहर गरि पार्टी भित्र र बाहिरबाट समेत राप्रपाका तर्फबाट उम्मेद्वारीका लागि सार्वजनिक आह्वान गर्ने, 

५. निर्वाचनका क्रममा निष्क्रिय रहेका, पार्टी हित विपरीत काम गरेका तथा विवादित जिल्ला लगायत विभिन्न तहका समिति र व्यक्तिका सम्बन्धमा छानबिन गर्न र आवश्यक निर्णयका लागि १५ दिन भित्रमा सिफारिस गर्न निम्नानुसारको छानबिन तथा सुझाव समिति गठन गर्नेः

क) संयोजकः निरञ्जन थापा 
ख) सदस्यहरु : १.प्रल्हाद साह, २. श्री ऋषि बाबु परियार, ३. सम्बन्धित प्रदेश प्रमुखहरु

६. साधारण तथा सक्रिय सदस्यलाई व्यवस्थित गर्ने र यसलाई अभियानको रुपमा सञ्चालन गर्ने । यसको आवश्यक तयारीको जिम्मा सचिवालयलाई दिने ।

७. पार्टी प्रवेश तथा सभाहरूको आयोजना गर्ने कार्यक्रमलाई निरन्तरता दिने । यस कार्यका लागि पार्टीका सबै तह तथा संगठनहरूलाई परिचालन गर्ने, 

८. भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी कार्ययोजना तयार गर्न संयोजित संगठन विभागलाई जिम्मेवारी दिने, 

९. पार्टीका तर्फबाट सामाजिक सञ्जाललाई उपयोग गर्नु सबैभन्दा उपयुक्त हुनेहुँदा यसलाई व्यापक र व्यवस्थित बनाउन प्रचार विभागलाई जिम्मेवारी दिने, 

१०. केन्द्रीय विभाग, समिति तथा कार्यसमितिहरूलाई यथाशीघ्र पूर्णता दिने, 

११. भ्रष्टाचार, महँगी, मलखाद लगायत जनजिविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने र आन्दोलन परिचालनका लागि निम्नानुसारको आन्दोलन परिचालन समिति गठन गर्नेः

क) संयोजकः बुद्धिमान तामाङ 
ख) सदस्यहरूः १. श्री धवल शमशेर राणा, २. श्री कुन्ती कुमारी शाही, ३. श्री गोपाल दाहाल, ४. ज्ञानेन्द्र शाही, ५. प्रदेश प्रमुखहरु

 १२. विभिन्न बिषयका विज्ञहरू संलग्न एक विज्ञ समूह निर्माण गर्ने, 

१३. विभिन्न तहको प्रशिक्षण सञ्चालन गर्न तत्काल कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रशिक्षण विभागलाई जिम्मेवारी दिनेः संयोजकः ध्रुबबहादुर प्रधान 

१४. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको घोषणापत्र बमोजिम कार्य गर्न गराउन विज्ञहरूद्वारा प्रशिक्षण तथा परिचालन कार्यक्रम सञ्चालन गर्ने, 

१५. आगामी निर्वाचन लगायत पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्न आर्थिक संकलनका लागि कार्ययोजना बनाउन तथा आर्थिक संकलन गर्न निम्नानसारको समिति गठन गर्नेः संयोजकः श्री धवल शमशेर राणा, सदस्यहरुः १. आर्थिक बिभाग प्रमुख – सदस्य–सचिब, २. सदस्यहरुः (क) ज्ञानेन्द्र शाही, (ख) श्री प्रेम श्रेष्ठ, (ग) श्री लोक तिवारी 

१६. वार्ता समितिले बिभिन्न समयमा बिभिन्न समूहहरूसँग वार्ता गरि गरेको सम्झौता अनुसार सदस्यहरू मनोनयन गर्ने 

१७. हालै पोखरावाट जोमसोम उडेको तारा एरलाईन्सको बिमान दुर्घटनामा परि दिवंगत भएका चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएकोमा राप्रपा गहिरो दुःख प्रकट गर्दै श्रद्दान्जली अर्पण गर्दछ, 

१८. आज बांके जिल्लाको नेपालगंज स्थित बीरेन्द्र चोकमा राष्ट्रवादी युवाहरुको स्वःतस्फुर्त सहभागितामा स्वर्गीय राजा बीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने कार्यको प्रशंसा गर्दै उक्त कार्यमा भएको प्रशासनिक हस्तक्षेप र सरकारी स्तरवाटनै उक्त शालिक तोडफोड गर्ने कार्यको भर्त्सना गर्दै घाइतेको उपचार र पक्राउ परेकाहरुलाई अबिलम्ब रिहाइको माग गर्ने, 

१९. असार ७,८,९ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने 

२०. माथि भएका निर्णय अनुसार कार्ययोजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिने ।

मोहन श्रेष्ठ
प्रवक्ता

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:२५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology