मनकामना, २८ मंसिर ।
गोरखाको धार्मिक तिर्थ स्थल मनकामना मन्दिर आजबाट सर्व साधारणका लागि खुल्ला गरिएको छ। साथै आजै देखी नेपालकै पहिलो केबुलकार पनि सञ्चालन आएको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन सक्ने भन्दै चैत्र महिना देखी सर्व साधारणका लागि मन्दिर दर्शन र केबुलकार यात्रामा रोक लगाईएको थियो।
मनकामना मन्दिरका पुजारीले आफ्नो तयारी पुरा भएको जनाएको छ । आज बिहानै देखी मन्दिरमा आउने भत्तजनलाई सुरक्षा मापदण्ड र सामाजिक दुरी पालना गरी लाइनमा राखिने र मन्दिरको पुर्व र पश्चिम तर्फको झ्यालबाट पुजा गर्ने गरी ब्यवस्था मिलाईएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले बताउनुभयो ।
पुजारी थापाका अनुसार मन्दिरमा बलि लिएर आउनेका लागि पनि बलि दिने स्थानमा संकल्पनका लागि पुजारीको ब्यवस्था गरिएको छ।
यता नेपालकै पहिलो मनकामना केबुलकारले पनि यात्रुको सेवाको लागि तयारी पुरा भएको जनाएको छ । चैत्र ८ गते देखी बन्द भएको केबुलकारका सवै प्राविधिक पक्षको जाँच सम्पन्न भएको र यात्रुलाई सामाजिक दुरीका साथै केबुलकार प्रवेश पुर्व नै स्यानिटाइज र सावुनपानीले हात धुने ब्यवस्था मिलाईएको नायव महाप्रवन्धक उज्वल शेरचनले बताउनु भयो।
केवलकारमा यात्रा गर्ने यात्रुको १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएमा केबुलकार यात्रामा प्रतिबन्ध लगानुका साथै केही समयका लागि भिडभाड गर्न र केबुलकार परिषर भित्र बनभोज समेत खान प्रतिबन्ध लगाएको छ ।
स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको केबुलकारले प्रति धण्टा ३३० जना यात्रुलाई मात्र यात्रा गराउन जनाएको छ ।
