खड्ग सुनार, मुगु, २८ वैशाख । जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्रभावित बनेको छ । १५ शय्या रहेको जिल्ला अस्पताल मुगुमा ४ महिनादेखि विशेषज्ञ चिकित्सक छैनन् । जसका कारण नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।
२०६३ सालमा स्थापना भएको अस्पतालमा विशेषज्ञ चिकित्सकको ३ ओटा दरबन्दी रहेको छ । तर, हाल अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् भने दरबन्दी अनुसारका पनि कर्मचारी पूर्ति हुन सकेका छैनन् । अस्पतालमा विशेषज्ञ चिकित्सक नभएकै कारण बिरामीलाई बाहिर अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालमा शल्यक्रिया, हाईड्रोसिल, हर्निया, ऐपेन्डिसाईटिस लगायतका उपचारमा समस्या भइरहेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक अभावको समस्या समाधानका लागि पहल नभएको भने होइन । समस्या हालसम्म पनि समाधान हुन नसकेको अस्पतालकै गुनासो छ ।
शल्य चिकित्सक, स्त्रीरोग र बालरोग गरी तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि सबै खाली छ । अस्पतालमा ४ जना मेडिकल अधिकृत रहेका छन् । जसमा २ जना अध्ययन विदामा छन् भने २ जनाको भरमा अस्पतालमा सेवा प्रवा भइरहेको छ । जसका कारण नागरिक उपचार सेवाबाट बञ्चित भएका छन् ।