कुरिनटार, १४ वैशाख । नेपालको संविधानले हरेक क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता गरेको छ। तर पनि सबै ठाउँमा अवस्था यस्तो छैन। जसको उदाहरण आसन्न स्थानीय तह निर्वाचनको लागि दलहरुले वितरण गरेको टिकट मै देख्न सकिन्छ।
संविधानले अनिवार्य गरेको बाहेक अन्य पदमा महिला उम्मेद्वार बनाएको हतपत नभेटिएको अवस्था छ। चितवनको इच्छाकामना गाउँपालिकामा पनि अवस्था यस्तै छ।
गाउँपालिकाको आसन्न स्थानीय तह निर्वाचनमा दर्ता भएको उम्मेद्वारीलाई हेर्दा वडाध्यक्ष पदमा कुनैपनि दलले महिलालाई पत्याएको देखिदैन। ७ वटा वडाध्यक्षको लागि २३ जना उम्मेद्वार मैदानमा छन् तर त्यसमा १ जना पनि महिला उम्मेद्वार देखिदैन।
गठबन्धनले ७ वटै वडाको वडाध्यक्षमा पुरुषलाई उम्मेद्वार बनाएको छ भने निर्वाचनमा सहभागी अन्य दल नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत कुनैपनि दलले महिलालाई वडाध्यक्षको उम्मेद्वार बनाएको देखिदैन।
यद्यपी गठबन्धनले अध्यक्षमा गीताकुमारी गुरुङलाई टिकट दिएको छ भने केहि खुल्ला सदस्यमा पनि महिलालाई टिकट दिएको भेटिएको छ।