धादिङ, १४ वैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रमुखका लागि उम्मेदवार कृष्ण बहादुर थपलिया (विवेक) बलियो उम्मेद्वार हुन । जनयुद्धकालदेखि नै माओवादीमा लागेका थपलिया आफुले निर्वाचन जित्नेमा ढुक्क छन् ।
सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट पालिका प्रमुख पदका लागि सोमबार उम्मेदवार दर्ता गरे लगतै उनले आफू गरिब र किसान परिवारबाट आएकाले आफू निर्वाचित भए गरिब किसान तथा मजदुर वर्गकै लागि काम गर्ने बताए ।
उनले राजनीतिक दल र नेताहरूले दिएका झुटा आश्वासनबाट नेपाली जनता आजित भइसकेको दाबी गर्दै आफूले त्यस्ता झुटा आश्वासन नबाँड्ने बताए । गरिब किसान तथा मजदुर वर्गको जीवनस्तर उकास्नका लागि उपयोगी योजनाहरू अगाडि बढाउने बताए ।
उनले आफू सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गर्दै आफ्नो जीत सुनिश्चित जस्तै रहेको पनि बताए । ‘बेनीघाट रोराङका प्रत्येक जनताले चिन्ने र माया गर्ने उम्मेदवार मै हुँ, त्यसमाथि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छु, मैले चुनाव जित्ने छु ।’ विवेकले भने ।आफू युद्ध मैदानबाटै जन्मिएको माओवादी भएकाले वास्तविक, शोसित पिडित गरिब जनताको पक्षमा काम गर्ने पात्र आफू बन्ने उनको भनाई छ । आफ्नो उम्मेदवारीले पालिकाका सबै वर्गका जनताको प्रतिनिधित्व गर्ने उनले बताए ।
को हुन विवेक ?
धादिङको बेनीघाट–रोराङ गाउँपालिका ७ – साबिक धुषा गाविस) मा जन्मिएका विवेक जनयुद्धको क्रममा राज्य पक्षबाट आफ्ना पिता, दाइ र भाइ मारिएपछि १२ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । भरखरै किशोर अवस्थामा प्रवेश गर्दै गर्दा आफ्ना पिता, दाजुभाइ गुमाउनु पर्दाको पिडाले राज्यप्रति विद्रोहको भाव उनको मनमा पैदा भयो । अनि २०५४ सालदेखि उनी युद्धमा होमिए ।
सुरुमा राज्यले परिवारमाथि गरेको हमला विरुद्ध प्रतिकारमा माओवादी बने । बिस्तारै माओवाद बुझ्दै गएपछि नेपाली जनताका लागि माओवादी आवश्यक रहेको उनले बुझे । अनि तत्कालीन राज्य व्यवस्था परिवर्तन गर्न अत्यावश्यक रहेको उनले थाहा पाए । अनि बन्दुकको गोलीबाट सत्ता प्राप्त हुने माओको सिद्धान्त उनले बुझे । विवेक भन्छन्–‘राज्यले मेरो परिवारमाथि गरेको ज्यादती असह्य भयो, अनि युद्धमा होमिए । पछि बुझ्दै जाँदा माओवाद नेपालको माटोले मागेको थाहा पाए । अनि सधैँका लागि माओवादी बने ।
धादिङको दक्षिणी भेग, प्रतिनिधिसभा क्षेत्र नम्बर १ (साबिक निर्वाचन क्षेत्र ३) मा माओवादी भन्ने बित्तिकै सम्झिने नाम हो विवेक थपलिया । उनी युद्ध जितिसकेपछि विजय जुलुसमा सहभागी भएका माओवादी होइनन् बरु युद्धको नेतृत्व गरेर आएका कमान्डर हुन् । युद्ध कालमा गाउँ बस्ती टोल टोलमा माओवादको प्रचारप्रसार गर्न होस् या युद्ध समाप्त भएपछि घाउहरूमा मलम लगाउन होस्, विवेक नै हाजिर हुन्थे र हुन्छन् । त्यसैले त त्यस क्षेत्रमा माओवादीको अर्को नाम बनेको छ, विवेक थपलिया ।
युद्ध कालमा सेनाले बम प्रहार गरेर उडाइदिएपछि बाँकी रहेको भग्नावशेषसँगै जोडेर बनाइएको उनको झुपडीमा माओवादीका सुप्रिम कमान्डरहरूले वास बसेका छन् । चिनेका छन् । माओवादी सत्तामा पुगेपछि पटक पटक राज्यको कार्यकारी प्रमुख भइसकेकाहरूसँग विवेकको राम्रै चिनजान छ । तर ती सम्बन्धलाई व्यक्तिगत लाभ उठाउने अस्त्र कहिले पनि बनाएनन् । बरु आफ्नो गाउँ बस्तीमै रहेर निरन्तर लडिरहेछन् । जनताको हक अधिकारका लागि आफ्नै पार्टीको नेतृत्वमाथि दावा बोलिरहन्छन् विवेक ।
जनयुद्धमा पीता दाजु भाई गुमाएका विवेकले यती ठूला पीडाकाबिच पनि कहिल्यै हार मानेन् । उनले अवसर पाएनन् तर निरन्तर पार्टीमा रहेर संघर्ष गरिरहे, पर्टीभित्र भएका विकृतिहरु विरुद्ध आवाज उठाइरहे । यस पटक भने पार्टीले गाउँपालिका प्रमुखका लागि टिकट दिएका छन् । विवेकले टिकट पाउँदा स्थानिय र कार्यकर्ताहरु खुशी छन् । विवेकलाई निर्वाचन जिताउन चुनावी रणमैदानमा एक भएर लागेका छन् ।
जनतासगैँ निरन्तरण साथमा रहेकोले आफुले चुनाब जित्नेमा ढुक्क छन् ।