आँबुखैरेनी, ३० चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै आँबुखैरेनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेद्वार बन्न आकंक्षा राखेकाहरुको नाम सिफारिस गरिएको छ। नेकपा एमाले स्रोतले दिएको जानकारी अनुसार एमालेबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा २ जना र उपाध्यक्षमा २ जना आकांक्षीहरुको नाम सिफारिस गरिएको हो।
जसमध्य गाउँपालिकाको अध्यक्षमा आकांक्षा राख्नेमा एमाले आँबुखैरेनी गाउँ कमिटिका अध्यक्ष मीना अधिकारी र प्रदेश कमिटि सदस्य एवं वडा नं. ३ का वहालवाला वडासदस्य ऋषि के.सी. रहेका छन्। उनीहरु दुवै जनाको नाम गाउँकमिटिले जिल्ला कमिटिमा फाइनलका लागि सिफारिस गरेको छ।
यस्तै गाउँपालिका उपाध्यक्षमा जिल्ला कमिटिको सचिवालय सदस्य इन्द्रमान परियार र गाउँकमिटिका सदस्य एवं वडा नं. २ का वहालवाला वडासदस्य मिनु मगरले आकंक्षा राखेका छन्। उनीहरु दुवैजनाको नाम पनि फाइनलका लागि जिल्ला कमिटिमा सिफारिस गरेको नेकपा एमाले आँबुखैरेनी गाउँकमिटिका अध्यक्ष मीना अधिकारीले जानकारी दिए।
त्यसो त एमालेले आँबुखैरेनी गाउँपालिकाको वडास्तरमा उठ्ने उम्मेद्वारहरुको पनि नाम फाईनल गरिसकेको छ तर हाल उनीहरुको नामावली सार्वजनिक नगरि जिल्लामा सिफारिस मात्र गरेको अध्यक्ष अधिकारीले बताए।