चितवन, २८ चैत । तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुदै छ। आज र भोली दुई दिनसम्म चल्ने महाधिवेशन चितवनको भरतपुर स्थित सिएमटी रिसोर्ट हाकिम चोकमा हुदैछ।
परिषद्ले दिएको जानकारी अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ भने महाधिवेशनको समुद्घाटन गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गर्नेछ। महाधिवेशनका लागि जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरु धेरै जसो आईसकेको र कतिपय आउने क्रम जारी रहेको छ।
महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै चितवनका अध्यक्ष गणेशबहादुर गुरुङको संयोजकत्वमा १५१ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ ।
महाधिवेशनमा संगठन विस्तार भएका देशभरका ६५ जिल्लाबाट एक हजार प्रतिनिधिहरू सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यस बर्षको मुल नारा “तमुवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता !” भन्ने रहेको अध्यक्ष तमूले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २८ सदस्यीय सचिवालय र ७७ सदस्यीय संघि समिति गठन गर्दै महाधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ ।
तमू जातीको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नका साथै आफ्नो समुदायको हक, हित र अधिकारका लागि गठन गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् विशुद्ध जातीय संगठन हो ।