सुशिला ओली, दाङ, १३ चैत । तत्कालीन जिल्ला विकास समिति, दाङले थारु नमूना गाउँको घोषणा गर्दै बनाएका ५ वटा नमूना घर जीर्ण बन्दा पनि संरक्षणमा कसैको ध्यान पुगेको छैन ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सिसहनियाँमा थारु नमूना गाउँ बन्दा गैर थारु समुदायका नागरिक पनि खुसी भएका थिए । तर, बजेट अभावमा बनेकै संरचनाले पनि स्याहार पाउन सकेको छैन ।
नमूना थारु ग्राममा विशेषगरी थारु समुदायको इतिहास, परम्परा र संस्कृति झल्काउने सामग्री राख्ने उद्देश्य लिइएको थियो । नमुना थारु ग्राम स्थापना गर्नेबेला थारु समुदायको परम्परागत थारु घर, बालविकास केन्द्र, थारु सङ्ग्राहलय, उद्यान लगायत स्थापना गर्ने सम्झौता थियो । तर निर्माण कार्य चल्दा सम्झौताको पालना नभएको नमूना थारु ग्रामका सञ्चालक समितिका अध्यक्ष बेझलाल चौधरीले बताउनुभयो ।
यसको संरक्षण गर्न भन्दै ७ नम्बर वडाबाट विगतका वर्षमा बजेट वार्षिक रुपमा विनियोजन हुने गरेको थियो । बजेटमा स्थानियबासीको चासो नहँुदा यसपाली बजेट नै नपरेको घोराहि उपमहानगरपालीका वडा नम्बर ७का सदस्य सुसिला चौधरीले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा सो क्षेत्रको डिपीआर तयार पार्न ५ लाख बजेट विनियोजन गरेको थियो । तर, डिपिआरको काम नभएर बजेट फ्रिज भएको घोराहि उपमहानगरपालीकाका नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
स्थानीय सरकारबाट कला, संस्कृति जोगाउने कार्यक्रमको माग गर्ने तर त्यसको निर्माण तथा संरक्षणमा चासो नदेखाउने प्रवृत्ति थारु नमूना गाउँ निर्माणमा देखिएको छ ।