बुना घिमिरे, दोलखा, १२ चैत । दोलखाका स्थानीय सरकारले हरेक आर्थिक वर्षमा युवा लक्षित कार्यक्रमका लागि करोडौँ खर्च गर्दै आएपनि वास्तविक लाभग्राही वञ्चित भएका छन् । कार्यक्रममा वास्तविक लाभग्राहीभन्दा पनि हुनेखाने र चिनेजानेकालाई मात्र सहभागी गराइएको गुनासो आउने गरेको छ ।
स्थानीय तहले युवाहरूका लागि भन्दै बजेट विनियोजन गरेपनि कार्यान्वयनमा समस्या रहेको बैतेश्वर गाउँपालिका ६ का भुपेस घिमिरेले बताउनुभयो ।
स्थानीय सरकाले खेलकुद तथा मनोरञ्जन लगायत क्षेत्रमा पनि प्राथमीकताको आधारमा कार्यक्रम बनाएको दावी गर्छन् । रोजगारी, कृषि र स्वास्थ्य, विकास निर्माण स्थानीय सरकारको प्राथमिकतामा पर्ने भएकाले युवाको चाहना अनुसारको कार्यक्रम बन्न नसकेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारको समन्वयमा गाउँघरदेखि सहरसम्मका युवाको माग, चाहाना अनुसारका कार्यक्रम बन्ने अपेक्षा यसबीचमा नागरिकको भएपनि पाँच वर्ष बित्दै गर्दा युवा लक्षित कार्यक्रममा पनि राजनीतिक दलप्रतिको आस्था र विचारका आधारमा सहभागिता गराउने वा रोक्ने प्रवृत्ति कतिपय अवस्थामा देखिने गरेको छ ।