गोरखा, १२ चैत । म्यादी प्रहरीका लागि गोरखामा तीन हजार पाँच सय ९१ जनाले आवेदन दिएका छन् । चैत्र ११ गते सम्म म्यादी प्रहरीका लागि आवेदन लिएको जिल्ला प्रहरी कार्यालयले ती मध्येबाट एक हजार आठ सय ६८ जना छनौट गर्ने जनाएको छ ।
चैत्र १५ गतेबाट २२ गते सम्म म्यादी प्रहरी छनौट प्रक्रिया सकिनेछ ।
आवेदन दिनेमा उच्च शिक्षा पढेका विद्यार्थी देखि गृहिणी महिला र खेतीकिसानी, ज्याला मजदुरी गर्नेहरु छन् । केही समय भएपनि काम पाउने आशमा अधिकासंले म्यादी प्रहरीमा आवेदन दर्ता गराएका छन् । चैत ६ गतेदेखि प्रहरीले ११ गते सम्म म्यादी प्रहरीमा आवेदन दिन जिल्ला प्रहरी कार्यालयमा सर्वसाधारणको लर्को लागेको थियो ।
आवेदन पेश गर्नेमा युवाहरु धेरै छन् । करिब पाँच सय हाराहारी भुतपूर्व आर्मी, प्रहरी छन् । आवेदन दिएका मध्येबाट करिब ५० प्रतिशत मात्रै छनौटमा पर्नेछन् । स्थानीय तहको निर्वाचनका बेला उनीहरुलाई परिचालन गर्न सरकारले ४० दिनका लागि भर्ना गर्न लागेको हो ।
म्यादी प्रहरी छनौट समितिले शारिरक अवस्था, अनुभव लगायतका आधारमा छनौट गर्ने प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । दरौदी दैनिकबाट







