काठमाण्डौ, १० चैत । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदिप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेका छन् ।
कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिदै विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताउनुभएको थियो ।
यस्तै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरूकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन पनि दिनुभएको छ । साथै बैठकले विभागहरुको पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ ।