नेपालगञ्ज, १० चैत । आठौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता आजदेखि नेपालगञ्जमा सुरु हुँदै छ । नेपाल भलिबल सङ्घको स्वीकृतिमा प्रधानमन्त्री कप प्रतियोगिता आजदेखि चार दिनसम्म चल्ने पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता नेपालगञ्ज रङ्गशालास्थित कभर्डहलमा हुने छ ।
प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।
मध्यान्ह् १२ युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।