भुम्लिचोक, २ फागुन । १९ घरधुरी रहेको गण्डकी गाउँपालिका ६, कौदीफाँटका सबै चेपाङ परिबार व्यवसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेती गर्न थालेपछि उनीहरुको मनग्य कमाइ हुन थालेको छ ।
‘हाम्रो कौदीफाँटका १९ घरका सबै चेपाङ तरकारी खेती गर्छौँ’, स्थानीय जनक चेपाङ भन्छन्, ‘कमाइ राम्रो हुन थालेपछि थुम्काबाट धमाधम यहाँ झरेर तरकारीखेती गर्न थालेका छन् ।’
यसअघि उनी हेटौँडा सिमेण्ट कम्पनीको चुनढुंगाखानीमा काम गर्थे । भन्छन्, ‘२० बर्षसम्म ढुंगाखानीमा काम गरेँ, न पेन्सन भयो, न उपदान’, उनी भन्छन्, ‘तरकारी खेती गर्न थालेको पाँच छ बर्ष भयो । अहिले राम्रो कमाइ छ ।’ तरकारीको कमाइले गाउँका चेपाङ समुदायले पहिलेझैँ, ढिँडो खानु नपरेको उनले बताए ।
गोरखाको गण्डकी गाउँपालिकाको वडा नं. १, ३, ६, ७ र ८ तथा शहीदलखन गाउँपालिकाको वडा नं. ४ का विभिन्न गाउँमा चेपाङ समुदायको बसोबास छ । तरकारी खेतीले जीवनस्तर उकास्न थालेपछि कौदीजस्ता विभिन्न गाउँका चेपाङ समुदायले निमेक र कन्दमुलबाट मुक्ति पाएका छन् ।
व्यवसायिक तरकारी खेतीबाट यथेष्ट कमाइ हुन थालेपछि थुम्काबाट धमाधम कौदीफाँटमा झर्ने क्रम बढिरहेको स्थानीयको भनाइ छ । ‘कसैले तीन रोपनी, कसैले चार, पाँच रोपनी खेतमा तरकारी खेती गर्न थालेका छन्’, जनक चेपाङ भन्छन्, ‘आफ्नै जग्गा नहुनेले भाडामा लिएर पनि तरकारी लगाउन थालेका छन् ।’
४६ बर्षका पूर्णबहादुर चेपाङ पनि कुल्ली काम छाडेर केहीबर्षदेखि तरकारी खेती गर्छन् । ‘भक्तपुरे काँक्रो लगाउँछु । यो सिजन सकिएपछि तनेबोडी लगाउँछु । त्यसपछि फेरि घिरौँला, भिँडी, लगाउँछु’, उनी भन्छन्, ‘दुई रोपनीमा लगाएको तरकारीबाट पोहोर एकै सिजनमा साँढेतीन लाख कमाएँ । यसपालि पनि राम्रै छ । खाडी जानुभन्दा यही ठिक छ ।’ तरकारीबाट कमाएको पैसाले छोरीलाई कृषि बिषयमा क्याम्पस पढाएको उनले बताए ।
अतिसीमान्कृत चेपाङ समुदाय अन्य अर्काको खेतबारीमा काम गर्ने, घर बनाउने, भारी बोक्नेलगायतका शारीरिक श्रम बढि पर्ने काम गरेर जीविकोपार्जन गर्ने गर्छन् । उनीहरुसित लालपूर्जा भएको जग्गा एक डेढ रोपनी मात्र हुन्छ । सबैले खोरिया फाँडेर ऐलानी जग्गामा खेती गर्ने गर्छन् । आफ्नो जग्गा जमिनको आम्दानीले बर्षभरि खान नपुगेपछि उनीहरु राजमार्गका बजारी क्षेत्रमा ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने गर्छन् ।
‘तीन, चार बर्ष भयो, अहिले अरुको निमेक र ज्यालामजदुरी गर्नुपरेको छैन’, अर्का स्थानीय धनबहादुर चेपाङ भन्छन्, ‘पहिले तरकारीखेती थाहा थिएन । लिबर्ड भन्ने संस्था आयो । तरकारी खेती गर्न सिकायो । तालिम पनि दियो । त्यसपछि यही सानो जग्गामा तीन सिजन तरकारी खेती गर्छौँ । यसैले पेटपाल्न पुगेको छ । छोराछोरी पढाउन पुगेको छ ।’
तरकारीखेतीले कतिपयको जीवन निर्वाह सहज बनाए पनि धेरैजसो चेपाङ समुदायलाई तरकारी खेती गर्ने जग्गाको अभाव छ । धनबहादुर चेपाङ भन्छन्, ‘कौदीफाँटमा हरहमेसा सिँचाइ हुन्छ तर धेरैजसो चेपाङ बस्ने खोरियापाखामा सिँचाइ छैन । खानेपानीले अलिअलि गोलभेँडा फलाउँछन् तर धेरै हुदैन ।’ चेपाङ किसानले उत्पादन गरेको तरकारी फिस्लिङमा लगेर बेच्छन् ।
त्यहाँ किसानले भन्दा काँटावाला(बिचौलिया)ले धेरै नाफा खाने किसानहरुको गुनासो छ । ‘बेच्ने पनि ठगिन्छ, किन्ने पनि ठगिन्छ । काँटावाला मालामाल छ’, उनी भन्छन् । तरकारी खेती गर्न थालेपछि गोर्दी, कौदी, छतिवनगैरा, क्षेत्रीखोला, हिक्लुङका चेपाङहरुको जीवनशैली फेरिएको छ । पक्की घर निर्माण गरेका छन् । छोराछोरी पढाएका छन् । ज्यालामदजुरी छाडेर आफ्नै काममा व्यस्त छन् । दरौदी दैनिकबाट







