Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा आधारभूत विद्यालयभित्र वडा कार्यालय

देवघाटमा आधारभूत विद्यालयभित्र वडा कार्यालय

images

न्युज कारखाना

१३, फाल्गुण २०७८
देवघाटमा आधारभूत विद्यालयभित्र वडा कार्यालय
images

कुलप्रसाद काफ्ले/न्युज कारखाना
चितवन, १३ फागुन

तनहुँको देवघाट गाउँपालिकाको एउटा आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरिएको छ । पाँच वर्षे कार्यकालमा वडा कार्यालय निर्माण गर्न नसकेका जनप्रतिनिधिले शान्तिपूर्ण क्षेत्र मानिने विद्यालयको भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरेका हुन् ।

विद्यालयमा विद्यार्थी पढिरहेका बेला अभिभावकसमेत प्रवेश गर्न पाउँदैनन् । देवघाट गाउँपालिका वडा नं ५ घिनाटारको चक्रवर्ती आधारभूत विद्यालयमा भने विद्यालयको एउटा भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरिएको छ ।

शिशुदेखि ५ कक्षासम्म पढाई हुने आधारभूत विद्यालयको परिसरभित्र वडा कार्यालय स्थापना गरेपछि विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पुगेको छ । शान्तिपूर्ण क्षेत्रमा असम्बन्धित व्यक्तिको प्रवेशले विद्यार्थीलाई पढाउनमा शिक्षकहरूले समेत ध्यान केन्द्रित गर्न सकेका छैनन् ।

गाउँपालिकाको प्रवक्तासमेत रहेका वडाध्यक्ष यालबहादुर गुरुङले आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय स्थापना गर्न नसकेको भन्दै स्थानीयले उनको आलोचना गरेका छन् । वडा कार्यालयका लागि बजेटको व्यवस्था भइसके पनि शिलान्याससमेत हुन सकेको छैन ।

oda-offc.jpg.jpg

यसअघिको वडा कार्यालयमा सरकारले १० शैयाको आधारभूत स्वास्थ्य चौकी बनाउने भएपछि गत २७ वैशाखमा विद्यालयको भवन खाली गराएर वडा कार्यालय स्थापना गरिएको हो । विद्यालयभित्र वडा कार्यालय बनाउने निर्णय गाउँपालिकाको कार्यपालिका बैठकले गरेको हो ।

राजनीतिक पूर्वाग्रह राखी विद्यालयको भवन जबर्जस्ती खाली गराएर वडा कार्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए । भूकम्प पुनःनिर्माण प्राधिकरणले निर्माण गरिदिएको दुई कोठे भवन कब्जा गरेर वडा कार्यालय स्थापना गरिएको उनले बताए । 

‘स्कुल मर्ज गरेर अन्यत्र जानुपर्छ । यहाँ वडा कार्यालय बनाउने हो भनेर जबर्जस्ती भवन खाली गराउनुभयो’, उनले भने, ‘हाम्रो स्कुलमा भन्दा अरु स्कुलमा झन् थोरै विद्यार्थी छन् । हामी मर्ज गर्न दिदैनौँ भनेर विरोध गरेका छौँ ।’ वडाध्यक्षको बलजफ्ती र विद्यालयका अध्यक्षको अडानका कारण अहिले विद्यालय र वडा कार्यालय एकै ठाउँमा सञ्चालन भइरहेका छन् ।

उनका अनुसार विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । दरबन्दीका चार, निजी स्रोतका एक र बाल कक्षाका एक गरी जम्मा ६ जना शिक्षक छन् । ‘वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरू विद्यालयको चौरमा बसेर सुर्ती चुरोट खाने गर्नुहुन्छ । हामीले सेवाग्राहीलाई त भन्ने कुरा भएन । वडाध्यक्षलाई नै भन्ने हो । तर उहाँले हाम्रो कुरा नै सुन्नुभएन’, उनले भने ।

वडाध्यक्ष गुरुङले भने स्थानीय ९० प्रतिशत जनताको मागका आधारमा विद्यालयभित्र वडा कार्यालय स्थापना गरिएको दाबी गरे । ‘वडा कार्यालय गाउँ सभाबाहेक अरुले सार्न सक्दैन । वडा कार्यालय त्यहिँ नै रहन्छ’, उनले भने, ‘अब आउने आर्थिक वर्षबाट बीचमा कम्पाउण्ड गरेर विद्यालय र वडा कार्यालय त्यहीँ राखिन्छ ।’

खोलापट्टि रिटेनिङ वाल निकालेर चौर बनाउने र बाल विकास केन्द्रले कक्षा १ देखि ३ सम्मको व्यवस्थापन गर्ने उनले बताए । ‘स्कुल किन मास्ने भन्ने कुरा आएको छ । कक्षा १ देखि ३ सम्म चाहिँ यही राखौँ । वडा कार्यालय पनि राखौँ भन्ने सहमति छ’, उनले भने, ‘त्यो कुरा चाहिँ कार्यपालिकाबाट आउन बाँकी छ ।’

शिक्षा ऐनअनुसार ७० भन्दा कम विद्यार्थी र आधा घन्टाको दूरीमा भएका विद्यालयहरू आवश्यकताका आधारमा पालिकाले मर्ज गर्न सक्ने भन्ने रहेको भन्दै उनले राजनीतिक कुराले त्यसो हुन अवरोध भएको बताए । वडा कार्यालयको फागुनभित्रै शिलान्यास हुने उनले दाबी गरे । देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले भने विद्यालय परिसरभित्र स्थापना गरिएको वडा कार्यालय अस्थायी भएको बताउँछन् । वडा कार्यालयका लागि जग्गा खोज्ने काम भइरहेकाले जग्गा प्राप्तिपछि शिलान्यास गरेर निर्माण थाल्ने उनले बताए ।

 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - १२:०२:३३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology