काठमाण्डौ, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भएमात्रै वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने बताउनुभएको छ । २७ औं ‘जनयुद्ध’ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुनसमेत आग्रह गर्नुभएको छ । उहाँले नेपालको इतिहासमा ‘जनयुद्ध’को भूमिका दूरगामी महत्व रहेको र अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो ।
जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलनपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको भन्दै संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान भएको दाबी गर्नुभयो । प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्र्टीाई बदनाम गर्न अहिले पनि लागिरहेको औंल्याउनुभएको छ ।
आज जनयुद्ध दिवसको अवसरका विभिन्न कार्यक्रम भइरहेको छ । नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा विशेष कार्यक्रम गर्दैछ । दिवसकै अवसरमा मधेस प्रदेशले भने आज सार्वजनिक बिदा दिएको छ ।