Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

व्यवसायिक माछापालनमा किसानको आकर्षण बढ्यो

व्यवसायिक माछापालनमा किसानको आकर्षण बढ्यो

केशव गुरुङ

१२, मंसिर २०७७
व्यवसायिक माछापालनमा किसानको आकर्षण बढ्यो

गोरखाको  बारपाक सुलिकोट गाउँपालिका–६ पाल्खुमा व्यवसायिक माछापालन शुरु भएको छ । 

images

सुलिकोट एग्रो फर्म दर्ता गरी करिव डेढ बर्ष अघि देखि माछापालन शुरु गरिएको संचालक राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार अहिले १८ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको छ ।

‘पहिले १४ वटा थियो अहिले चार वटा थपेर १८ वटा पोखरीमा बिभिन्न जातका माछा पालेका छौ,’ उनले भने । करिव १७ लाख लगानी गरिएको उनले जानकारी दिए । प्रदेश सरकारबाट ६ लाख अनुदान समेत पाएको उनको भनाइ छ । 

विभिन्न जातका माछा पाल्दै आएको बताउदै उनले थपे, ‘‘सुरुमा नयनी नामको माछा हालेका थियौ, त्यस पश्चात कमान नामको माछा राख्यौ, अहिले सबै बिक्री भइसक्यो ।’ 

उत्पादित माछा स्थानीय बजारमै बिक्री हुने गरेको उनले जानकारी दिए । गोरखा बजार, घ्याम्पेशाल, देउराली, पाल्खु, बारपाक लगायतका ठाउँमा माछा बिक्री हुने गरेको उनले बताए । प्रति केजी ५ सय रुपयामा माछा बिक्री हुने उनी बताउछन् ।          

‘नर्सरी पोखरी बनाएर माछापालन गर्दा वर्षमा दुई पटक झिक्न मिल्छ, तर हामीले नर्सरी पोखरी नबनाएकाले सिजन अनुसार वर्षमा एक पटक मात्र झिक्ने गरेका छौ,’ श्रेष्ठले भने । उनका अनुसार १८ वटा पोखरीमा करिव ४० हजार सम्म माछा पाल्न सकिन्छ । उक्त फर्ममा दुई जनाले रोजगार समेत पाएका छन् ।

बाख्रापाल व्यवसाय समेत संचालन गर्ने योजनामा  रहेको श्रेष्ठ बताउछन् । बारपाक सुलिकोट भौगोलिक रुपमा पनि माछापालनका लागि उपयुक्त भएकाले माछापालन व्यवसायमा युवाहरु आकर्षित बन्दै गएको कृषि प्राविधिक तारायणी घिमिरेले बताउछन् ।

गाउँपालिकाले माछापोखरी सुधार कार्यक्रहरु पनि ल्याएको उनले जानकारी दिए । ‘एउटा पोखरी बराबर १० हजार अनुदान दिने गरेका छौ,’ उनले भने, ‘एउटा पोखरीमा पालिका र किसानको ५०÷५० प्रतिशत लगानी हुन्छ ।’

अघिल्लो बर्ष एउटा पोखरीको १० हजारका दरले १०÷१२ वटा पोखरीलाई अनुदान दिएको उनले बताए । गत बर्ष पोखरी स्तरोन्नतीका लागी २० जना किसानलाई अनुदान दिइएको उनले जानकारी दिए ।

माछापोखरी सुधार कार्यक्रमका लागी चालु आर्थिक वर्ष पनि तीन लाख रकम छुट्याइएको उनले बताए । उक्त रकम व्यवसाियक रुपमा संचालित  पोखरी स्तरोन्नतीका साथै माछापालन व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई पोखरी खन्न, कुलो बनाउन आवश्यक सामानहरु खरिदका लागी उपलब्ध गराइने बताइएको छ । 

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १०:१४:५४ बजे

केशव गुरुङ

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology