Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बन्दाबन्दीको समयमा चोयाबाट विभिन्न सामाग्री बनाई ६० हजार आम्दानी

बन्दाबन्दीको समयमा चोयाबाट विभिन्न सामाग्री बनाई ६० हजार आम्दानी

रासस

३, मंसिर २०७७
बन्दाबन्दीको समयमा चोयाबाट विभिन्न सामाग्री बनाई ६० हजार आम्दानी

पोखरा, ३ मंसिर । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गरेका छन् ।

images

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गरेका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्न नपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आफ्नो दैनिक खर्च चलाएको अनुभव सुनाए । विसं २०७७ चैत महिनादेखि निर्मलपोखरी र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो र निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ र धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उनले जानकारी दिए ।

“आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर छ, गाह्रो काम गर्न सक्दिनँ”, उनले भने, “हातको सीपसँगै केही हदसम्म भए पनि आम्दानी हुने हुँदा परिवारको पालनपोषण र आफ्नो उपचारमा समेत सहयोग पुगेको छ ।” बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नु दैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन । सामान चाहिनेहरू घरमै आउने गरेको उनले बताए ।

चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उनले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्री आफूले बुन्ने गरेको जानकारी दिए । नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५ सय ५०, विभिन्न आकारका थुन्से रु ४ सयदेखि ७ सय, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७ सयदेखि ८ सय, धान राख्ने कोठाको रु दुई हजार र बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदै आएको छ । बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उनले वातावरणीयसँगै स्थानीय सीप र कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय निगालो र बाँस पनि पाउन कठिन बनेको छ ।

बन्दाबन्दीको क्रममा श्रीमानलाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएको उनकी श्रीमती रत्नकुमारी नेपालीले दुखेसो सुनाइन् । “कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको छ”, उनले भनिन्, “मंसिर ४ गते चौथोपटक किमो चढाउने भनेको छ, यसअघि स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?”

“श्रीमान् रोग र भोकसँगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारी खरिद गरी बजार र घरबाटै बिक्री गर्दै आएकी छु”, रत्नकुमारीले भनिन्, “दुई छोराले र छोरीहरूले पनि सहयोग गर्दै आएका छन् ।” 

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ११:१४:५९ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology