चितवन, २ मंसिर । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ। आज दिउँसो भने सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले सीआईएनसँग बताउनुभयो।
यसैबीच,हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ। हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ। हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ। लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको स्थानीयले बताएका छन्। मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ।
हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ। उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ। हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा हिजो दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन्।