तनहुँ, २८ कार्तिक । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट प्रतिनिधि छनौट भइरहेका छन्। महाधिवेशन प्रतिनिधि बन्न चाहने आकांक्षी धेरै भए पनि सर्वसम्मत बनाउने नाममा नेताहरूले आफूनिकट प्रतिनिधि छनौट गरेको गुनासो धेरैतिर सुनिन्छ।
तनहुँ क्षेत्र नं. १ यसको उदाहरण हो।
महाधिवेशन प्रतिनिधिका लागि यहाँ एक जना महिला र खुला चार जनाको सिट थियो। २ महिला र खुलामा १५ जनाले महाधिवेशन प्रतिनिधी बन्न उम्मेदवारी दिएका थिए।
सहमति हुने संभावना नदेखिएपछि स्थानीय उम्मेदवार र नेताहरूले कार्यदल गठन गरे। कार्यदल संयोजक थिए, एमाले तनहुँ जिल्ला इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य एकबहादुर राना।
कार्यदलले सहमति जुटेको भन्दै खुला चार र एक महिलाको नाम निर्वाचन कमिटीलाई बुझायो। त्यही नाम कमिटीले महाधिवेशन प्रतिनिधीका रूपमा सदर गर्यो।
तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद रामबहादुर गुरूङ सर्वसम्मत छनौट गरिएका प्रतिनिधीमा चयन भएनन्।
उक्त क्षेत्रबाट गएको चुनावमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै प्रतिनिधी सभामा कृष्णकुमार श्रेष्ठ ‘किसान’, प्रदेश सभा १ मा गुरूङ र २ मा हरिबहादुर चुमान निर्वाचित भएका थिए। श्रेष्ठ अहिले एमालेबाट अलग्गिएको नेकपा एकिकृत समाजवादी पार्टीबाट मन्त्री बनेका छन् भने चुमान माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलका नेता छन्।
सो क्षेत्रबाट एमालेमा रहेका एक मात्र सांसद गुरूङ हुन्। पार्टीको महाधिवेशनमा आफूलाई प्रतिनिधी छनौट नगरेको भन्दै गुरूङले असन्तुष्टी जनाएका छन्।
‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेशन प्रतिनिधी बन्थेँ,’ गुरुङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान गर्यो।’
केन्द्रीय सदस्य रानाले विवेकपूर्ण निर्णय गर्लान् भनेर नै उनलाई कार्यदल संयोजक स्विकार गरेको तर आफू खुसी निर्वाचन कमिटीलाई महाधिवेशन प्रतिनिधीको नाम बुझाएर राना सम्पर्क विहिन बसेको सांसद गुरूङको आरोप छ।
‘हाम्रा साथीहरूले धेरै सम्पर्क गर्न खोजे, उहाँको घरमा पनि गए,’ उनले भने, ‘उहाँ (एकबहादुर राना) सम्पर्कविहिन हुनुहुन्छ।’
यसपाली आफूले केन्द्रिय सदस्यमा उमेद्वारी दिने गुरूङको सोच थियो। त्यही अनुसार तयारी गरेर महाधिवेशन प्रतिनिधी बन्न चाहेका थिए।
हाल केन्द्रिय सदस्य रहेका राना पनि फेरी केन्द्रिय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। जिल्लाबाट आफू उम्मेदवार बन्दा प्रतिस्पर्धी नहुन् भनेर नै रानाले आफूलाई प्रतिनिधी बन्न नदिएको गुरूङको दाबी छ।
‘म केन्द्रिय सदस्यको उम्मेदवार हुन पाए १५/२० जनाभित्रै पर्छु जस्तो लाग्छ,’ गुरूङले भने, ‘मलाई केन्द्रमा जान नदिन जिल्लामै रोक्न खोजियो।’
सांसद गुरूङ व्यवसायी हुन्। नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रहेका गुरूङ एमाले निकट नेपाल व्यवसायी महासंघ गण्डकीका इन्चार्ज समेत हुन्। गुरूङ गण्डकी कार्पेट, गण्डकी बि कन्सर्न लगायतका उद्योग तथा व्यवसायका संचालक छन्।
व्यवसायिक पृष्ठभूमिबाटै आफूले केन्द्रिय सदस्यमा लोकप्रिय मत पाउन सक्ने गुरूङको दावी छ।
‘पार्टी निकट व्यवसायी संस्था मात्र होइन, जनता र कार्यकर्ताले पनि मलाई रुचाएका छन्,’ उनले भने, ‘मैले सजिलै केन्द्रिय सदस्य जित्न सक्छु।’
कार्यदललाई विश्वास गर्नु नै आफ्नो गल्ती भएको भन्दै गुरूङ पछुताइरहेका छन्।
आफू २०३६ सालदेखि एमालेमा लागेको तर अहिले कार्यदलले वडा अध्यक्ष पनि जित्न नसक्ने व्यक्तिलाई महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए।
तनहुँको महाधिवेशन प्रतिनिधी छनौटबारे एमाले गण्डकीका संयोजक एवं स्थायी कमिटी सदस्य किरण गुरूङ र केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरूङसँग उनले असहमति राखेका छन्।
नेताद्वयले तनहुँबाट प्रतिनिधी छनौटका विषयमा रानाले कुनै सल्लाह नगरेको र गलत निर्णय गरेको जवाफ दिएको सांसद गुरूङले बताए।
अझै पनि पार्टीले केन्द्रबाट मनोनित गर्न सक्ने भन्दै नेताद्वयले अध्यक्ष केपी ओलीसम्म आफ्नो असहमति लैजानुपर्ने उनको माग छ।
महाधिवेसन प्रतिनिधी छनौटमा आफूलाई हराएका कारण कार्यकर्तामा निराशा छाएको र माधव नेपालको एकिकृत समाजवादी पार्टीतिर कार्यकर्ता लाग्न थालेको उनले बताए।
‘एमालेले कार्यकर्तालाई संरक्षण गर्न सकेन, सांसदलाई महाधिवेशन प्रतिनिधी पनि बनाएन भनेर साथीहरू माधव नेपाललाई भेट्न गएका छन्,’ उनले भने, ‘साथीहरू उता पुगिसक्यो, मैले रोक्न खोजिरा’छु, संझाइ बुझाइ गर्नै सकेको छैन।’
पार्टीले महाधिवेसन प्रतिनिधी छनौटमा अन्याय गरेको भन्दै अब भने एमालेमा बस्ने कि नबस्ने सोच्ने बेला आएको गुरुङले बताए।
‘अब मैले सोच्नुपर्छ, नयाँ पार्टी खोलेपनि भयो, कांग्रेसमा गए पनि भयो,’ उनले भने, ‘सबै पार्टीको लक्ष्य त पाँचवटा कुरा हो नि।’
उनका अनुसार ती पाँच कुरा सडक, विजुली, स्वास्थ्य, प्रविधि र रोजगारी बढाउने हो। सबै पार्टीको उदेश्य यही पाँच कुरा भएकाले जुन पार्टीमा गए पनि फरक नपर्ने उनको धारणा छ।
केन्द्रिय सदस्य एवं महाधिवेसन प्रतिनिधी छनौट कार्यदल संयोजक रानाले भने आफ्नो प्रतिस्पर्धा सांसद गुरूङसँग नभएको बताउँछन्।
आफू कार्यदलमा बस्न नचाहँदा नचाहँदै उम्मेदवारहरूले जुनसुकै निर्णय गरेपनि स्विकार गर्ने लिखित सहमति गरेपछि मात्र कार्यदल संयोजक बसेको उनले बताए।
कार्यदलमा रहेका एमाले तनहुँ अध्यक्ष केदार सिग्देलसहित ५ जनाले सर्वसम्मत निर्णय गरेर महाधिवेशन प्रतिनिधी छानेको रानाले बताए। भूमिगत कालदेखि पार्टीमा काम गरेका र यसअघि अवसर नपाएका व्यक्तिलाई अवसर दिएको उनको भनाई छ।
‘मलाई संयोजक नबनाउनु बरू चुनाव गर्नुस् भनेको थिएँ, तपाईं जिम्मेवारीबाट पन्छिन मिल्दैन मनेर कर लगाए,’ उनले भने, ‘मेरो मात्र निर्णय होइन, कार्यदलका ५ जनाको सर्वसम्मत निर्णय हो, १५ जना आकांक्षीमा १० जना बाहिरिँदा सबैको चित्त बुझाउन सकिएन।’
सांसद गुरूङले केन्द्रिय सदस्य चुनाव लड्नेबारे नबताएको भन्दै उनले पीडित कार्यकर्ताको मूल्याङ्कन गरेर प्रतिनिधी छानेको दाबी गरे। आफू संसदीय निर्वाचनमा ३ पटक चुनाव हारेको भन्दै अब आफू चुनाव नलड्ने पनि उनको भनाइ छ।
‘अब पनि उम्मेदवार हुने त उहाँ (रामबहादुर गुरुङ)हरु नै हो नि, एक ठाउँमा अवसर पाइएन भनेर चित्त दुखाउनु हुँदैन, अवसर आउँछ ।’
एमाले तनहुँका अध्यक्ष सिग्देलसँग निरन्तर सम्पर्कमा रहेको भन्दै रानाले आफू बेपत्ता भएको आरोप मिथ्या रहेको बताए। सांसद गुरुङलाई प्रदेश कमिटीमा राख्न आफुले नै प्रस्ताव गरेको दाबी गर्दै उनले भने, ‘चुनावमा उहाँलाई मरिमेटेर सहयोग गरिन्छ, फेरी चुनाव जिताएर मन्त्री बनाउने धोको छ मेरो।’
सांसद गुरुङ र कार्यककर्तालाई पार्टीमा बस्ने वा छाड्ने विषयमा स्वतन्त्रता भएको उनले बताए। उनले भने, ‘जो कोहीले पनि पार्टीमा बस्छु वा छाड्छु भन्ने स्वतन्त्रता छ, उहाँले पार्टी नै छाड्नुहुन्छ भन्ने विश्वास छैन।’