मुग्लिन, ८ असोज । मध्यरातमा त्रिशुलीमा कार खस्दा बेपत्ता तीनको अवस्था अझै थाहा हुन सकेको छैन । चितवनको मुग्लिन नजिकै नाग्दिखोला स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २च ४९१८ नम्बरको कार शुक्रबार राति मध्यरातमा त्रिशुली नदीमा खसेको थियो ।
एक जना घाइतेको उद्धार गरेको सशस्त्र प्रहरीले बाँकीको पनि खोजी गरिरहेको छ । दुर्घटनामा उद्धार गरिएको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदीलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।
ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार अझै खोजी जारी छ ।
बेपत्ताहरु सबै पोखराका
दुर्घटनामा बेपत्ता भएकाहरूमा कास्की, पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५ वर्षिय प्रेम भुजेल, ५५ वर्षीय लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।
प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन्। उक्त दुर्घटनामा परेको कार पनि भुजेलकै हो । यही असोज २ गते सम्पन्न पोखरा चेम्बर अफ कमर्शको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट भुजेल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
भुजेल कपडा व्यवसायी संघ, कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य, नेकपा ९एमाले० को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य हुन् । हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् ।