देवघाट, २५ भदौ । तनहुँको देवघाट गाउँपालिकामा पहिलो पटक बुद्धिचाल प्रतियोगिता सुरू भएको छ। राष्ट्रिय युवा संघ नेपाल देवघाट गाउँ कमिटीको आयोजना र जिल्ला बुद्धिचाल संघ तनहुँको समन्वयमा सुरू भएको सो प्रतियोगिता आज दिउँसो करिब २ बजेबाट सुरू गरिएको हो। देवघाट गाउँपालिकाभित्र आजसम्ममा भएको सम्पूर्ण प्रतियोगिता मध्ये यो बुद्धिचाल प्रतियोगिता भने प्रथम पटक भएको हो।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्गवहादुर थापाले गरेका थिए। कार्यक्रमलाई सम्बोन्धन गर्दै युवा संघले आयोजना गरेको बुद्धिचाल प्रतियोगिता अति नै सराहनीय रहेको गाउँपालिका अध्यक्ष थापाले बताए। देवघाटमा युवा संघले नयाँ नयाँ प्रतियोगिताहरू भित्र्याउदैँ यहाँ भित्र रहेका युवापुस्ताहरूलाई नयाँ अनुभवहरू दिएको उनले बताए । थापाले बल भन्दा बुद्धि ठुलो हो भन्ने उखानलाई मध्यनजर गर्दै देवघाटमा मैत्रीपूर्ण खेलको सुरूवात भएको बताइएको छ।

आजभोलिका युवाहरूको मन जित्न सफल खेल अन्तर्गत बुद्धिचाल प्रतियोगिता पनि पर्ने भएको हुदाँ प्रतियोगिताको आयोजना गरिएको जिल्ला बुद्धिचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलले बताए।
कार्यक्रम देवघाट गाउँपालिकाको सभाहलमा सञ्चालन भएको हो, भने सो बुद्धिचाल प्रतियोगितामा १२ वर्षका बालकदेखि ६१ वर्ष सम्मका बृद्धहरूले समेत सहभागिता लिएका थिए।

कार्यक्रममा सबैभन्दा ठुलो ६१ वर्षिय बृद्धले घरमा सधै समय बिताउनको लागि खेलिन्थ्यो भने आज पालिकामा प्रतियोगितामा भाग लिन पाउँदा खुसी व्यक्त गरे । कार्यक्रममा २० टिमले सहभागीता जनाइएको थियोे।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सान श्रेष्ठ, बुद्धिचाल संघ नेपाल प्रतिनिधि चन्द्र मोहन अधिकारी, बुद्धचाल संघ नेपाल कास्की जिल्ला उपाध्यक्ष अनिल बहादुर कोईराला, बुद्धिजीवी संघ देवघाटका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठ, आदर्श मा.वि.का प्रधानाध्यापक देउराम सारू लगाएतका बुद्धिजीवी व्यक्तिहरूको सहभागीता थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल देवघाट गाउँपालिका कमिटी संयोजक सुकु गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो।
