देवघाट, २२ भदौ । महिला संजाल देवघाटका अध्यक्ष सावित्री न्यौपानेले देवघाट गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेका छन्। आज एक कार्यक्रमको आयोजना गरि सञ्जालका अध्यक्ष न्यौपानेले व्यक्तिगत रुमा १५ हजार रुपैयाँ गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको हो। उनले उक्त सहयोग रकमको चेक गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी हामी सवै एकजुट भएर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए। साथै अध्यक्ष थापाले नेपाली दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसर पारी सो रकम सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना सहित धन्यवाद दिए।

सो कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष एवं देवघाट गाउँपालिका प्रवक्ता याल बहादुर गुरुङले कोविड १९ कोरोना भाइरसको नियन्त्रण हामी सवै संघ संस्था समुदाय मिलेर अगाडी बढ्नुपर्ने बताए। अध्यक्ष गुरुङले नेपाली दिदीबहिनीहरुको महान पर्व हरितालिका तिज पर्वलाई सामान्य तरिकाले मनाउन आग्रह गर्दै भड्किलो र खर्चिलो नगर्न समेत उनले बताए।
यस्तै गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै सञ्जालका अध्यक्ष सावित्री न्यौपानेले बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुगोस् भन्ने हेतुले हरितालिका तिजको अवसर पारी आफुले खर्च कटौती गरि जम्मा गरेको रकम सहयोग गरेको बताए। सो रकम कोविड १९ संक्रमित महिला दिदिबहिनीहरुको लागि आवातजावत गर्न लाग्ने एम्बुलेन्स भाडा खर्चमा खर्चिन अनुरोध गर्दै आगामी दिनहरूमा पनि आफुले सकेको सहयोग गर्ने बताए।
कार्यक्रममा नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपानेले महामारी, विपतको समयमा हामी यो पार्टी त्यो पार्टी भन्ने होइन, सवै समान हौं, भन्ने भावनाका साथ सवैले आ–आफ्नो ठाँउबाट जिम्मेवारी कर्तव्य निभाउन सक्नु पर्ने बताए।