आँबुखैरेनी, १९ कार्तिक । तनहुँको आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँबुखैरेनी स्टारको विशेष पहलमा संकलन गरिएको झण्डै डेढ लाख रुपैयाँ सहयोग रकम आँबुखैरेनीका मृगौला रोगबाट पिडित एक विरामीलाई हस्तान्तरण गरिएको छ। क्लवको विशेष पहलमा संकलन गरिएको १ लाख ४२ हजार ७ सय ३० रुपैयाँ सहयोग रकम आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी मृगौला रोगबाट पिडित भुवन तामाङलाई आज हस्तान्तरण गरिएको हो।

क्लवको पहलमा तनहुँ आँबुखैरेनी ३ निवासी विष्णु श्रेष्ठ (नेपाल) तथा युके निवासी विनोद श्रेष्ठको संयोजकत्वमा युकेमा रहेका विभिन्न सहयोगी दाताहरुबाट संकलन गरिएको सहयोग रकम एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको क्लवका संस्थापक एवं पूर्व अध्यक्ष लायन बाबुराम श्रेष्ठले जानकारी दिनुभयो। मृगौला पिडितको घरमा नै आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले सहयोग रकम हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनीका संस्थापक तथा पूर्व अध्यक्ष बाबुराम श्रेष्ठ, वर्तमान अध्यक्ष लायन कृष्ण शाही लगायत क्लवका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।