भुम्लिचोक, १५ असोज । गोरखाको गण्डकी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाको बुधबार सम्पन्न छैटौं गाउँसभाले प्रशासनिक भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
यस अघि गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषयमा विवाद हुदाँ अहिलेसम्म प्रशासनिक भवन निर्माण हुन सकेको थिएन। मंगलबारबाट सुरु गाउँसभामा गाउँपालिकाको केन्द्र बनटार राखियोस् भन्ने प्रस्ताव प्रस्तुत भएकोमा अस्वीकृत भएको थियो। बनटारको प्रस्ताव अस्वीकृत भएसँगै गाउँपालिकाको केन्द्र अब अहिले कै स्थान भुम्लिचोक ओखलडाडा आसपास नै हुने भएपछि भवन निर्माणका लागि बाटो खुलेको छ। यसैले पनि भवन निर्माणका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताईन्।
गत असार मसान्त भित्रै सक्नुपर्ने भएपनि विवादका कारण ढिला भएको गाउँपालिकाको छैटौं गाउँसभाले ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट बिनियोजन गरेको छ।
‘बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, उर्जा बिकास, खेलकुद, बन तथा बातावरण, बिपद् ब्यवस्थापन, पर्यटन लगायतलाई प्राथमिकता दिएको उपाध्यक्ष अधिकारीले बताईन्। ‘संघिय सरकार बित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ४१ लाख र संघिय सरकारको शसर्त अनुदान तर्फ २४ करोड २३ लाख प्रस्ताब गरिएको छ भने समपुरक अनुदान तर्फ एक करोड ६७ लाख अनुमान गरिएको छ’ उपाध्यक्ष अधिकारीले भनिन्।
प्रदेश सरकार वित्तिय समानिकरण अनुदान तर्फ एक करोड २१ लाख ५६ हजार, प्रदेश सरकार शसर्त अनुदानमा ३० लाख, समपुरक अनुदान ५० लाख र प्रदेश सरकार विषेश अनुदान २० लाख गरी २ करोड २१ लाख ५६ हजार प्राप्त हुने अनुमान गरिएको छ।
संघिय सरकारबाट राजस्व बाँडफाँडको ७ करोड ३४ लाख, ४८ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ४४ लाख ९५ हजार गरी ७ करोड ७९ लाख ४३ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिईन।
गाउँपालिकाको आन्तरिक राजस्व १ करोड ६१ लाख, गत वर्षको ३ करोड ९८ लाख र गाउँपालिका अन्र्तगत जिम्मेवारी सरेका आयोजना २ करोड ५२ लाख अनुमान गरिएको छ।
एक देखि आठ वटा वडाका लागि वडास्तरमा छनौट भएका योजनाका लागि ८ करोड ५७ लाख बिनियोजन गरिएको छ। बाँझो जमिनमा ब्यवशायीक खेती गर्नेलाई अनुदानको ब्यवस्था गर्ने, बाँदरका कारण किसानको कृषि उत्पादन ह्रास आएकाले बाँदर धपाउने यन्त्र खरिद गर्ने कार्यक्रम गण्डकी गाउँपालिकाको रहेको छ। काठेपोल बिस्थापन गर्न सहयोग पुग्ने गरी कार्यक्रम संचालन गर्ने, पर्यटन बिकास योजना बनाउने, बैकल्पिक उर्जाका कार्यक्रम संचालन गर्ने गरी बजेट बिनियोजन गरिएको छ।
एक वडा एक खेलकुद मैदान, उन्नत बिउबिजन, किसानका लागि मलखाद बितरण गर्न २० लाख बजेट गाउँपालिकाले छुट्याएको छ।
सिउरेनीटार बेनिगाउँ सडकका लागि ७० लाख, ज्ञानमार्ग माविको गुरुयोजना निर्माण, तोमनडाँडा छात्राबास तथा भान्साघर निर्माण, स्वास्थ्य केन्द्र भबन र आवस्यक उपकरण निर्माणका योजना चालु वर्ष संचालन हुने गाउँसभाले निणर्य गरेको छ।