स्नेहा कर्ण, काठमाडौं, १४ असार । काठमाडौंका मनिषा ढकाल, आफू अरु व्यक्तिभन्दा फरक भएको अनुभव हुँदै गर्दा घर परिवारबाट एक्लिनुपरेको छ । परिवारबाट टाढा हुँदा मानसिक तनाव हुने गरेको उहाँको भनाइ छ ।जनकपुरका निसा साह पनि अहिले एक्लै कोठा लिएर बस्नु परेको छ ।
कक्षा ५ मा पढ्दै गर्दा उहाँलाई केटीको पहिरन मन पर्ने, उनीहरुसँगै बस्न मन लाग्थ्यो । आफ्नो व्यवहारलाई लिएर शिक्षक र साथीभाइले बिभिन्न उपनामले बोलाउने गरेको उहाँलाई अझैँ याद छ । मनिषा र निसा मात्रै होइन फरक यौनिकता र लैङ्गिक अल्पसङ्ख्यक अधिकांशको पीडा यस्तै छ ।
२०७० सालमा सर्वोच्च अदालतले फरक यौनिकता भएकाहरुलाई पहिचान दिनुपर्ने फैसला सुनायो । तर समाजले अझै पनि उनीहरूलाइृ नस्वीकारेका कारण मानसिक र शारीरिक हिंसा भोग्नुपरेको छ । यौनिक अल्पसङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील, निल हिरा समाज नेपालका अध्यक्ष पिङ्की गुरुङ्ग बताउनुहुन्छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वर्ष फरक यौनिकता र लैङ्गिक अल्पसङ्ख्यकमाथि भएका १३ वटा हिंसाका घटना दर्ता भए । निल हिरा समाजका अनुसार गत वर्षको लकडाउन यता २२ जनाले हिंसाकै कारण आत्महत्या गरेका छन् भने २ जनाको हत्या भएको छ ।
न्याय माग्दा प्रहरीले पीडितहरूको उजुरी निल नमानेको आरोप लाग्ने गरेको छ । तर नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुवँर यो आरोपमा सत्यता नभएको दावी गर्नुहुन्छ । नेपालमा फरक यौनिकता र लैङ्गिक अल्पसङ्ख्यकको एकिन तथ्याङ्क छैन । तर, विश्वभरि कुल जनसंख्याको ९ प्रतिशत नागरिक यस समुदाय अन्तर्गत पर्ने बिभिन्न तथ्याङले देखाउँछ ।
जनसङ्ख्या सानो भए पनि आफूहरूमाथि हुने हिंसा र यसको प्रभावलाई महत्वका साथ हेरिनुपर्ने र दोषीमाथि कारबाही गरिनुपर्ने फरक यौनिकता भएका र लैङ्गिक अल्पसङ्ख्यकहरूको माग छ ।