काठमाण्डौ, १३ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुने भएका छन् ।
आज प्राधिकरणमा भएको वार्ता र छलफलपछि इञ्जिनियरहरुले पाउने संचार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरुलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्ने लगायतका सहमति भएका हुन् ।
छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्व. ईन्ज्निियर राजा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले पहल गर्ने, प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरुको कार्य अनुभव सहितको विवरण तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने , साथै यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने सहमति भएको छ ।
यस्तै प्राविधिकहरुले पाउनु पर्ने संचार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७/७८ को श्रावन महिनाबाटै नियमानुसार उपलब्ध गराउने , प्राधिकरण अन्तर्गत रही कार्य गरेका प्राविधिकहरुलाई रिफ्रेसर ट्रेनिङको व्यवस्था प्राधिकरणले गर्ने लगाएत ७ बुँद्ये सहमति भएको छ ।