सुसीला श्रेष्ठ, काठमाण्डौँ, १० असार । संघ र प्रदेशले जस्तै स्थानीय सरकारले पनि कोभिडको नियन्त्रण व्यवस्थापन र विकास निमार्णका आयोजनाहरूलाई केन्द्रमा राखेर बजेटको सिलिङ् तोकेका छन् ।
आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम स्वास्थ्य र रोजगारीमा केन्द्रीत भएको ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले बताउनुभयो । मेचीनगर नगरपालिका झापाका उपप्रमुख मीना पोखरेलका अनुसार पालिकाको प्राथमितामा विकासका पूर्वाधार र कोरोना नियन्त्रणमा छ ।
खडक नगरपालिका सप्तरीले पनि स्वास्थ्यलाई प्राथमिकता दिने छ भने कृषिको विषय पनि मुख्य छ । कर्जन्हा नगरपालिका सिरहाका उपप्रमुख ज्ञानकुमारी श्रेष्ठले यसपटक पनि अघिल्ला वर्ष जस्तै कृषि, रोजगारी र स्वास्थ्यको विषय प्राथमिकतामा परेको जानकारी दिनुभयो ।
बाग्मती प्रदेशमा रहेका १ सय १९ स्थानीय तह मध्ये सीआईएनसंग कुरा गरेका पालिकाका धेरै जसो उपप्रमुखले विगतकै आयोजनाहरूको निरन्तरता, शिक्षातथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताएका छन् ।
आफ्नो कार्यकालको अन्तिम वर्ष भएकाले पनि धेरै पालिकाले यसअघि छनोट भएका आयोजना पूरा गर्ने गरी बजेट बिनियोजनको तयारी गरेका छन् । पूर्वाधार निमार्ण, किसानका लागि राहत तथा अनुदान, रोजगारी, विपद् व्यवस्थापन, सडक, पानी, सिँचाइ जस्ता विषय सबैजसो पालिकाको कार्यक्रममा परेको छ ।
सीआईएनले कुरा गरेका सात प्रदेशका २८ स्थानीय तह मध्ये विकास निर्माण, कृषि, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा जस्ता विषय सबैको प्राथमिकतामा छ । क्षेत्र ,भुगोल र नागरिकको आवश्यकता अनुसार केहीले भिन्न किसिमका कार्यक्रमहरु पनि समेट्ने बताएका छन् ।