सुर्खेत ,२३ जेठ । राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’