Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लखन थापाको बिद्रोहको एक सुरक्षा कबजः झाँक्रीपहरा

लखन थापाको बिद्रोहको एक सुरक्षा कबजः झाँक्रीपहरा

जिवन आले मगर

२, जेठ २०७८
लखन थापाको बिद्रोहको एक सुरक्षा कबजः झाँक्रीपहरा
images

नेपालको राजनीतिक इतिहासमा लखन थापा मगरको नेतृत्वमा राणाशासन विरुद्ध वि.सं. १९२७ देखि १९३३ सम्म भएको क्रान्तिलाई प्रजातन्त्र एवम् लोकतन्त्र प्राप्तिको लागि गरिएको  ‘प्रथम जन विद्रोह’ मानिन्छ । जनस्तरमा सङ्गठन गरेर निरकुंश जहानियाँ राणाशासनको अन्त्य गरि लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने प्रमुख लक्ष्यका साथ उक्त विद्रोह अघि बढेको थियो । तत्कालीन राणा शासक जङ्गबहादुरको सरकार विरुद्ध जनसरकार र जनसेना गठन गरी राजनैतिक क्रान्ति सञ्चालन गरेको  अभियोगमा जङ्गबहादुर राणाको आदेशमा वि.स. १९३३ मा फाँसीको डोरीमा झुण्ड्याइएका लखन थापा मगर नेपालकै पहिलो शहीद हुन् ।

images
images

त्यतिवेला करिब दुई हजारको संख्यामा राणा शासन विरुद्ध जनसेना तयार गरिएको थियो । जनसरकारको प्रमुख (प्रधानमन्त्री) लखन थापा मगर थिए । जयसिंह चुमी राना मगरलाई जनसेनाको प्रमुख वा सेनापति बनाइएको थियो।

यो विद्रोहका क्रममा लखन थापा मगर सहित जयसिंह चुमी राना मगर, जीतमान गुरुङ्ग, विराज थापा मगर, अछामी मगर, अजपसिंह थापा मगर र जुठ्या थापा मगरले बलिदानी दिएका थिए । राणा सरकारका जल्लादहरुले नेपाल आमाका यी वीर योद्धाहरुलाई फाँसीको डोरीमा झुण्ड्याउँदै गर्दा केही व्यक्तिहरुले लुकेर ज्यान जोगाएका थिए । त्यस्ता व्यक्तिहरुध्येका एक थिए, शहीद जयसिंह चुमी राना मगरका छोरा अजवसिंह (अजखसिंह) । उनी गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, रानिश्वरा तीनघरेको घना जङ्गलको वीचमा अवस्थित झाँक्री पहरामा लुकेर वाँच्न सफल भएका थिए ।

184191633_960777947799836_3768292499585795900_n.jpgशहीद जय सिंह चुमी राना मगरका छोरा अजवसिंह –अजखसिंह) लुकेको झाँक्री पहरा

183526954_152647440145843_8773203843736861745_n.jpgझाक्री पहरा रहेको शहिद लखन गाउँपालिका वडा नं. ६, रानिश्वरा तीनघरेको घना जङ्गल

रानिश्वरा गाउँका ५९ बर्षीय तिल बहादुर कुराल राना मगरले आफ्ना बाबु नरबहादुरबाट सुनेको भन्दै बताउनु भए अनुसार – ‘जयसिंह चुमीको ससुराली  हामी ( कुराल राना मगर) हौँ  । लखन थापा मगरले गठन गरेको जनसेनामा हाम्रा जिजुबाजे कर्णेल भएका थिए । लखन थापा, जयसिंह लगायतका क्रान्तिकारी व्यक्तिहरुलाई जङ्गबहादुर राणाले मारिसकेपछि जयसिंहका छोरा अजबसिंहको पनि खोजी हुन थाल्यो । राणाहरुले उनलाई मार्ने षडयन्त्र गरेपछि हाम्रा बाजे ऐमानसिंह रानाले अजबसिंहलाई हाम्रो गाउँ नजिकैको वनको वीचमा रहेको झाँक्री पहराको गुफामा लगेर लुकाएर राखेका थिए । सोही कारण उनको हत्या हुन पाएन । झाँक्री पहराको उक्त गुफा भित्र ढुङ्गे धारा, ढिकी, जाँतो, ढुङ्गाकै बत्ती बाल्ने पाला लगायतका सामग्रीहरु थिए ।’
183209665_510713479970408_186835099705489315_n.jpgस्थानीय तिल बहादुर कुराल राना मगर

उक्त गुफा रानिश्वरा र तीनघरेको वीचमा रहेको जंगलदेखि डल्लुखोपसम्म करिव पाँचसय मिटर लामो रहेको विश्वास गरिने रानिश्वराका ३३ बर्षीय रमेश थापा मगरको भनाई रहेको छ ।

तीनघरे गाउँका ७० बर्षीय पहलमान थापा मगरका अनुसार –‘एकजना झाँक्री बसेकाले उक्त गुफालाई झाँक्री पहरा भनिएको हो । उक्त गुफामा बस्ने झाँक्रीले स्थानीयहरुलाई ठूला भोजभतेरमा प्रयोग गर्नका लागि पकाउने ठूला भाँडाकुँडाहरु उपलब्ध गराउने गरेको जनश्रुती रहेको छ । भनिन्छ रानिश्वराका एउटा पुलामी परिवारले भोजमा ल्याएर प्रयोग गरेको ठूलो भाँडो जुठो अवस्थामा नै फिर्ता गरेका थिए । त्यस घटनाबाट रिसाएर उक्त झाँक्री परिवार त्यस ठाउँ छाडेर तनहूँको बन्दिपुरमा गई बस्न थाले । वि.सं. १९५९ मा ठूलो पहिरो गएकोले झाँक्री पहराको उक्त गुफा पुरिएको अवस्थामा रहेको छ।’

रानिश्वराका २७ बर्षीय स्थानीय नीर वहादुर कुराल राना मगरका अनुसार–‘झाँक्री परिवारलाई जुठो भाँडो फिर्ता गरेपछि पुलामी परिवारलाई कहिल्यै शुभ भएन । त्यसैले उक्त परिवारले रानिश्वरा गाउँ छाडेर हालको शहिद लखन गाउँपालिका वडा नं.१, सानो दिप्लिङ्ग भन्ने गाउँमा बसोवास गर्न थालेको बताइन्छ ।’

नेपालको इतिहासलाई अध्ययन गर्ने हो भने लखन थापा मगरलाई झुण्ड्याएर मारेपछि उनका परिवारका सदस्यहरुलाई पनि राणाहरुले मार्ने षडयन्त्र गरेको पाइन्छ । त्यसैले आफ्नो सुरक्षाका लागि लखनको परिवार गोरखाको हालको शहिद लखन गाउँपालिका वडा नं.,७ काहुलेबाट भागेर तेह्रथुम जिल्लाको कोबेक भन्ने ठाउँमा गई लुकेर वस्नु परेको थियो । 

यसरी इतिहासको घटनाक्रमलाई विश्लेषण गर्दा लखनसँगै मारिएका जयसिंहको छोरा अजवसिंहलाई झाँक्री पहराको गुफामा लुकाएर हत्या हुनबाट जोगाएको भन्ने स्थानीयहरुको कथन विश्वसनीय देखिन्छ ।  यस गुफामा लखन थापाको विद्रोहका क्रममा गोप्य वैठकहरु सञ्चालन भएको र विद्रोही सेनाका कुराल राना मगर लगायतका क्रान्तिकारीहरु लुकेर बसेकाले विं.सं. १९३३ मा लखन थापासँगै मारिनबाट जोगिएको अनुमान गर्न सकिन्छ ।

लखन थापा मगरको नेतृत्वमा भएको प्रथम जनबिद्रोहको बेलामा गोप्य र सुरक्षित स्थानको रुपमा विद्रोही गतिविधि सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न स्थानहरुमध्येको एक झाँक्री पहरा हालसम्म ओझेलमा परेको छ । लखन थापा मगरको विद्रोही किल्लाबाट करिव ३ कि.मि. पश्चिम तिरको दुरीमा अवस्थित यस स्थानमा घना जंगल रहेको छ । झाँक्री पहरा सामुदायिक बनको क्षेत्र भित्र पर्ने यो ठाउँ समुन्द्र सतहबाट करिब ११८० मिटरको उचाइमा रहेको छ । यस गुफाको क्षेत्र वरपर ठूला ठूला ढुङ्गाका पहरा, झाँक्री धारा, कुवा जस्ता पुराना स्थलहरु अझै देख्न सकिन्छ । 

183329262_497153728096538_8076773674328453396_n.jpgगुफा क्षेत्रमा रहेको कुवा

पहिरोबाट पुरिएको झाँक्री पहराको गुफाको स्थानीय मानिसहरुले विं.सं. २०७७ मा उत्खनन् सुरु गरेपनि अझै यसले गुफाको रुप प्राप्त गर्न सकेको छैन । स्थानीय गाउँ तीनघरेमा वि.सं. २०७७ मा ‘झाँक्रीपहरा सामुदायिक होम स्टे’ सञ्चालनमा ल्याइएको छ । तर  अझै पनि ऐतिहासिक महत्व बोकेको झाँक्री पहराको उचित विकास र प्रचार हुन भने सकेको छैन ।

इतिहास वोकेको झाँक्री पहरा प्राकृतिक हिसाबले पनि रमणीय ठाउँमा छ । जसले यहाँ आउने पर्यटकहरुलाई मोहित बनाउँदछ । शान्त र शीतल यस ठाउँमा पानीको प्राकृतिक कुवा, जंगली फलफूल, अनेक प्रकारका बोटविरुवा र जंगली पशुपन्छीको नजिकैबाट अबलोकन गर्न सकिन्छ । साँझपख यहाँबाट देखिने सूर्यास्तको मनोरम दृश्यबाट हर्षित नहुने त को नै होला र ! 

झाँक्री पहरा नेपाली जनक्रान्ति र प्रजातान्त्रिक आन्दोलनको एक साक्षात् इतिहास हो । तर लखन थापा मगर र उनका सहयोगीहरुले शहादत प्राप्त गरेको १४५ बर्षसम्म पनि यो ठाउँ गुमनाम  रहनु विडम्वना नै मान्नु पर्दछ । यो ठाउँको उचित संरक्षण र विकास गरी नेपाल र  नेपालीको गौरवपूर्ण इतिहासलाई वर्तमान र भावी पुस्ताका माझ परिचित गराउनु सिङ्गो राज्य र हामी सवै नेपालीको कर्तव्य हो । जुन आजको आवश्यकता पनि हो ।

(लेखक मगर प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानका संस्थापक महासचिव हुन्।)

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - ०८:२३:५२ बजे

जिवन आले मगर

शहीद लखन गाउँपालिका ७ काउले भँगार निवासी लेखक आले शहिद लखन गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology