देवघाट, १ जेठ । तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरु गाउँपालिका भित्रका संक्रमितहरुको घर घर पुग्न थालेका छन्। गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा सहितको टोली गाउँपालिकाका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको हौसला बढाउन घरघरमा पुग्न थालेका हुन्।
गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोरोना संक्रमितहरुलाई सामाजिक दुरि कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिई स्वास्थ्य लाभको कामना सहित हौसला प्रदान गर्नुभएको थियो।

उक्त समूहमा अध्यक्ष सहित वडा नं. ५ का वडाध्यक्ष याल बहादुर गुरुङ, वडासदस्य भोजराज नैनावस्ति, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी, ईप्रका देवघाटका इन्चार्ज सुशील लामिछाने लगायतका रहेका छन्।

देवघाट गाउँपालिकामा हाल १३ जना संक्रमित रहेको छ । शुक्रबार प्राप्त रिर्पोटमा ५ महिला ७ पुरुष गरि १२ जना संक्रमित थपिएको थियो । केही दिन अघि ४७ जनाको स्वाव संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका १ जनाको पनि रिर्पोट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभएको थियो ।
संक्रमित मध्ये वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का १/१ जना रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाथोकीले जानकारी दिनुभएको थियो ।