आँबुखैरेनी- तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यार्थी संख्या अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्न गाउँपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएको छ। सिकाई सहजिकरण सम्बन्धि आईतबार एक सूचना जारी गर्दै गाउँपालिकाले यस्तो निर्देशन दिएको हो।
जस अनुसार ५० जनासम्म विद्यार्थी भएको विद्यालय एक बेन्च र अर्को बेन्चको दुरी १ मिटरका साथै एक बेन्चमा दुई जना मात्रै विद्यार्थी राखेर नियमित सञ्चालन गर्न सक्नेछ।
५० देखि १०० जना विद्यार्थी भएको विद्यालयको हकमा दुई सिफ्टमा विद्यालय सञ्चालन गर्नुपर्नेछ भने १०० देखि २०० सम्म र सो भन्दा बढि विद्यार्थी भएको विद्यालयको हकमा दिन बिराएर सिफ्ट प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ।
यस्तै सवारी साधन प्रयोग गर्ने विद्यालयले ५० प्रतिशत सिटमा मात्र विद्यार्थी राख्न पाउने, आधा घण्टासम्म दुरीको विद्यार्थीलाई सकेसम्म पैदल नै आउन प्रेरित गर्ने, माक्स सेनिटाइजरको प्रयोग गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु यथासक्य चाडो विद्यालयमा उपस्थित हुनुपर्ने लगायतका निर्देशनहरु दिएका छन्।
आँबुखैरेनीमा ३५ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालयहरु छन्। कोभिड १९ का कारण जसमा अध्ययनरत ४ हजार १ सय ७५ जना विद्यार्थीहरु पठनपाठनबाट प्रभावित भएका छन्।