सुर्खेत, १७ बैशाख । कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका सांसदहरुले आधा महिनाको पारिश्रमिक प्रदेश कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।
संसदीय दलको आज बसेको बैठकले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउन आधा महिनाको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनुभयो ।
बैठकले दलमा आवद्ध सांसदहरुले कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आ–आफ्नो निर्वाचन क्षेत्र, प्रदेश सरकारका निकाय, स्थानीय तह र अन्य राजनैतिक दल लगायतसँग आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान समसामयिक राजनैतिक परिस्थिती र दलले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । कर्णाली प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १२ जना सांसद हुनुहुन्छ ।