रोल्पा, १५ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा भिषण आगलागी भएको छ । सोमवारदेखि जंगलमा लागेको आगो हिजो दिउँसो नियन्त्रण भन्दा बाहिर जादा वडाको अधिकांश मानव बस्तीमा फैलिएको थियो । बस्तीमै आगलागी पुगेपछि झन्डै ४० घरगोठ जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट २१ वटा घर र १९ वटा गोठ गरी चालिस वटा घरगोठ जलेर नष्ट भएका छन् ।जंगलमा लागेको आगो स्थानियहरुले सोमवारदेखि नै नियन्त्रणमा लिने प्रयास गरेपनि हिजो हावाहुरीका कारण मानव बस्तीमा पस्दा घरगोठ जलेर नष्ट हुनुको साथै दर्जनभन्दा बढी पशुचौपाया मरेको अध्यक्ष वलीले जानकारी दिनुभयो ।
दिउँसोको समय भएकाले मानविय क्षति भने नभएको उहाँले बताउनुभयो । घटनाको सम्पुर्ण विवरण आउन बाँकी रहेको छ । वडाको नुवावाङ, धनवाङ ,बर्तिवाङ, रामपुर लगाएतमा मानव बस्तीमा आगलागी भएको हो ।
आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आएको छैन र नियन्त्रणमा लिनका लागी स्थानिय, सुरक्षाकर्मी र जनप्रतनिधिहरु खटिएको उहाँले जानकारी दिनुभयो । आगलागी पिडितहरुलाई सुरक्षित ठाउँमा सारिएको र तत्काल व्यवस्थापनको लागी तयारी भईरहेको अध्यक्ष वलीले बताउनुभयो ।