देवघाट, १४ बैशाख । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ र ३ का आगलागी पीडितहरुलाई लायन्स क्लवहरुले राहत वितरण गरेको छ। पिडितहरुलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ नारायणगढ सहिदचोक र लायन्स क्लव अफ नारायणगढ सहिदचोक सञ्जिवनीले संयुक्त रुपमा आज ३० हजार बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्री वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकासको निम्ति सवै संघ संस्थाहरु संग समन्वय गरेर अगाडी बढेको बताउदै गाउँपालिकाको बिकास निरन्तर अगाडी बढेको बताउनुभयो। साथै अध्यक्ष थापाले आर्थिक अवस्था कमजोर रहेका आगलागी पिडितहरुलाई सहयोग गरेकोमा लायन्स क्लवहरुलाई धन्यवाद दिए।
गत चैत १० गते भएको आगलागिमा परि देवघाट २ वडा ब्यागानका ४२ बर्षका मिन बहादुर थापा मगर, चैत १५ गते भएको आगलागीमा परि देवघाट ३ छिपछिपेका २७ बर्षीया लक्ष्मी गुरुङ र चैत २० गते भएको आगलागीमा परि देवघाट ३ गोन्द्राङ्गका लोक बहादुर बाचे मगरको घर पुर्णरुपमा नष्ट भएको थियो।
सो राहत वितरण कार्यक्रममा संयोजक घनश्याम न्यौपानेले कार्यक्रमको बिषयमा प्रष्ट पारेका थिए भने स्वागत मन्तव्य लायन्स क्लव अफ नारायणगढ सहिदचोक संजिवनीका अध्यक्ष रचना चुकेले राखेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, अतिथि देवघाट गाउँपालिका प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त र पत्रकार बिष्णु गौतम लगाएतको उपस्थिति रहेको थियो भने लाईन्स क्लब अफ नारायणगढ सहिदचोकका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।