काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्र सहमत भएको छ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको नतृत्वमा नयाँ सरकार बानाउनेबारे सहमति जनाएको हो ।
तीन दलबीच सत्ता समीकरणबारे आज बसेको बैठकमा नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेको थियो ।
माओवादी केन्द्रले उक्त प्रस्तावलाई समर्थन गरेको छ भने जनता समाजवादी पार्टीले थप समय माग गरेको छ । बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।
यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए ।
बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका छन् । पार्टीले सरकार बनाउन ढोका खोलिदिएको एक सातापछि देउवाले आज तीन दलको बैठक राखेका थिए।
देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ। अर्को बैठक छिटै बस्ने गरी आज आधा घण्टामै बैठक सकिएको थियो।
बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको बताए । ‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ,’ उनले भने। ‘मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओलीजीसँग पनि कुरा भइरहेको छ, देउवाले पनि ती माग पूरा गर्छु भन्नुभएको छ,’ उनले भने।
कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे पार्टीमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ठाकुरको भनाइ थियो। जसपामा ओलीलाई नै समर्थन गर्ने कि देउवालाई सहयोग गर्ने भन्नेबारे दुई धार देखिएको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज छलफल भएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिले केही दिनअघि गरेको निर्णयबारे जानकारी गराएका थिए ।
कांग्रेसले यही चैत २० गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिनभन्दा बढी समय हुँदासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।
सभापति देउवाले राखेको उक्त प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सकारात्मक छ’ भनेको बैठकमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अध्यक्ष दाहालले त्यसमा आफूहरु साथमा रहेकोसमेत अवगत गराएका थिए ।
जसपाका नेताहरुले भने सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गरेर निर्णय गरेपछि पुनः बस्ने बताए । प्रवक्ता शर्माले सत्ता समीकरणका लागि तीन दलबीच भएको पहिलो बैठक सकारात्मक रुपमा टुगिङ्एको बताए ।