Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी–छिम्केश्वरी सडक कालोपत्रे गर्ने तयारी हुदै, ६५ प्रतिशत काम सकियो

आँबुखैरेनी–छिम्केश्वरी सडक कालोपत्रे गर्ने तयारी हुदै, ६५ प्रतिशत काम सकियो

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
आँबुखैरेनी–छिम्केश्वरी सडक कालोपत्रे गर्ने तयारी हुदै, ६५ प्रतिशत काम सकियो
images

आँबुखैरेनी, १४ चैत । तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा यही वैशाखबाट कालोपत्रेको तयारी गरिएको हो ।

हाल उक्त सडकमा नाला निर्माणको कामलाई तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । ‘सडक फराकिलो बनाउने काम र नाला निर्माणको काम सँगसँगै अगाडी बढिरहेको छ,’ ढुङ्गानाले भन्नुभयो, ‘वैशाखबाट कालोपत्रे शुरु गर्ने तयारी गरिएको छ ।’

उहाँका अनुसार उत्तल सडकखण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ । 

त्यस्तै वित्तीय प्रगति ५२ प्रतिशत छ। कूल १६ किमि सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु ८ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । ‘यो बजेटले १२ किलोमिटर दूरी कालोपत्रे हुनेछ,’ उहाँले भन्नुभयो ।

वि.सं २०७६ मसिर ६ गते सम्झौता भएको उक्त सडकको अन्तिम म्याद वि.सं २०७८ फागुन १३ गतेसम्म रहेको छ । 

त्यसका लागि काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकखण्डको साढे दुई किलोमिटर दूरीमा जङ्गल पर्ने भएकाले कालोपत्रेका लागि समस्या भएको छ । ‘जङ्गलले गर्दा साढे दुई किमि समस्या भएको छ, निर्देशनालयले आइइका लागि प्रकृया शुरु गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘आइइको प्रतिवेदन आएपछि उक्त खण्डको काम शुरु हुन्छ ।’

निर्माण कम्पनीले स्थानीय तहबाट स्वीकृत लिएर सोही ठाउँमा अस्थायी क्रसर राखेर काम गरिरहेको छ । म्यादभन्दा ६ महिना पहिला काम सम्पन्न गरे बोनस प्राप्त हुने भएकाले निर्माण कम्पनीले सोही बमोजिम कामलाई तीव्र दिएको ढुङ्गानाले बताउनुभयो ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखेलले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रेपछि भक्तजनको सङ्ख्या थप वृद्धि हुनेछ ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाईमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । 

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्णा माई र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडी हेर्न सकिन्छ ।

त्यस्तै लाब्दीगाउँमा पनि घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । १३ घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । 

घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएपनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको थियो । लाब्दीका १३ घरमा घरबास सञ्चालनको तयारी छ ।

खबरपुञ्ज डटकमकबाट

 

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १८:५५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology