Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

दशैंको टीका साइत बिहान १०:२६ बजे, थाप्ने पश्चिम र लगाइदिने पूर्व फर्किनुपर्ने

दशैंको टीका साइत बिहान १०:२६ बजे, थाप्ने पश्चिम र लगाइदिने पूर्व फर्किनुपर्ने

images

इच्छाकामना न्युज

५, कार्तिक २०८३
दशैंको टीका साइत बिहान १०:२६ बजे, थाप्ने पश्चिम र लगाइदिने पूर्व फर्किनुपर्ने
images
काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । उत्तम साइत खोज्नेहरूका लागि भने बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरिएको छ ।

समितिका अनुसार दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने हुन्छ । दक्षिणतर्फ फर्किएर पितृकर्म गरिने धार्मिक मान्यता रहेकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन ।

टीका लगाउनुअघि के गर्ने ?

धार्मिक परम्पराअनुसार देवी विसर्जन गरेपछि सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका चढाउने चलन छ । त्यसपछि कलशमा राखिएको पवित्र जलले अभिषेक गरी इष्टदेवता र कुलदेवतालाई स्मरण गर्दै जमरा काट्ने गरिन्छ । कतिपय स्थानमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परा पनि छ ।

गुरुपुरोहितबाट टीका लगाउने चलन भएका घरमा उनीहरूबाट र अन्यथा घरका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी दशैंको शुभारम्भ गरिन्छ । त्यसपछि परिवारका अन्य सदस्य तथा आफन्तबाट टीका र आशीर्वाद लिने परम्परा छ ।

साइत कुर्नैपर्छ त ?

समितिले उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोके पनि बाध्यात्मक परिस्थितिमा साइतकै कारण टीका लगाउन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको धार्मिक जानकारहरू बताउँछन् । बिहान घाम झुल्किएपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गर्न सकिने र टाढा रहेका आफन्तकहाँ टीका लगाउन जान पनि सकिने मान्यता छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार टीकाको साइतलाई लिएर अनावश्यक दुविधा पाल्न आवश्यक छैन । विदेशबाट ढिलो गरी नेपाल आउने वा अन्य बाध्यात्मक परिस्थितिमा रहेका व्यक्तिले पनि आफू अनुकूल समयमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्न सक्ने धार्मिक परम्परा रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८३ बुधवार - १०:२५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology