सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार फिल्मले प्रदर्शनको ३८ दिनसम्म १० करोड १७ लाख ७३ हजार ८२८ रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मका ३ लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरे पनि पछिल्लो समय दर्शकको साथ पाउँदै कमाइमा गति लिएको हो। यो फिल्म यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममध्ये दोस्रो स्थानमा पुगेको छ।
सामाजिक कथावस्तुमा आधारित ‘पेन्सन पट्टा’ले लाहुरे जीवनशैलीसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई प्रस्तुत गरेको छ।
फिल्ममा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। त्यस्तै, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा दिवंगत अभिनेता सुनील थापालाई पनि देख्न सकिन्छ।