राष्ट्रपति म्याक्रोंले सुरक्षा योजना निर्माण र गुप्तचर सूचना संकलनमा भएका त्रुटिको पारदर्शी छानबिन गर्न निर्देशन दिएका छन्। उनले सुरक्षा व्यवस्थामा सुधार गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक तयारी गर्न पनि निर्देशन दिएका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा देशभर दुई हजार चार सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने एक हजारभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्।
प्रदर्शनका क्रममा विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुनुका साथै सार्वजनिक भवन, पसल तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको छ। मध्य फ्रान्सको लिमोज सहरस्थित करिब १४० वर्ष पुरानो ऐतिहासिक नगरपालिकाको भवनमा समेत आगजनी भएको समाचारमा उल्लेख छ।
हिंसात्मक घटनापछि सरकारको सुरक्षा तयारी र प्रहरी परिचालन क्षमतामाथि प्रश्न उठेको छ। विपक्षी दलका नेताहरूले सरकारको आलोचना गर्दै गृहमन्त्रीको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।
गृहमन्त्री नुनेजले पनि केही स्थानमा सुरक्षा निकायले परिस्थितिमाथिको नियन्त्रण गुमाएको स्वीकार गरेका छन्। तर राष्ट्रपति म्याक्रोंले तत्काल नेतृत्व परिवर्तन गर्नुको सट्टा सुरक्षा कमजोरी सुधार्ने जिम्मेवारी उनलाई नै दिएका छन्।
म्याक्रोंले हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र तोडफोड तथा लुटपाटमा संलग्न समूहलाई अलग रूपमा हेर्नुपर्ने बताएका छन्।