गोरखा। बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले लैजानुभएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्याइएको हो ।
गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुग्नुभएको थियो । उहाँले लैजानुभएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट ड्रोनले पीडितको घरघरमा पुर्याइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो ।
सोलार ओसारपसारका लागि दुई वटा ड्रोन गृहमन्त्री आफैले लग्नुभएको थियो । ड्रोन उडानमा सशस्त्र प्रहरीको चार जना प्राविधिक खटिएका छन् । नजिकैको स्थानमा वितरण भएपनि टाढा पुर्याउन भने समस्या भएको पालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
बाढीले सिर्दिवास उहिया मिनी हाइड्रोमा क्षति पुर्याएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध थियो । विद्युत समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ सोलार लिएर आफ्नो क्षेत्र पुगेका हुन् ।
क्षति पुगेको हाइड्रो मर्मत भएसँगै आजबाट सो क्षेत्रमा विद्युत सेवा समेत सुचारु भइसकेको छ । समितिले हाइड्रोको मर्मत गरेर सेवा सुचारु गरेको हो ।