धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् कार्तिकेय अर्थात् स्कन्दकी माता हुन्। उनलाई मातृत्व, ममता, प्रेम र करुणाकी प्रतीकका रूपमा पूजा गरिन्छ। स्कन्दमाताको पूजा आराधना गर्नाले सुख, शान्ति, समृद्धि तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
दशैँको नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। भक्तजनहरूले बिहानै स्नान गरी शुद्ध मनले देवीको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्।
नवरात्रका नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार आज पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ।