चितवन । बसाइँसराइका कारण र त्यसले समाजमा पार्ने प्रभावबारे फर्वाड नेपालले चितवनका पत्रकारहरूसँग अन्तर्क्रिया गरेको छ । इच्छाकामना गाउँपालिका–जलवीरेमा आयोजित कार्यक्रममा स्थानीयस्तरमा देखिएको आन्तरिक तथा मौसमी बसाइँसराइका समस्या र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।
फर्वाड नेपालको ‘दिगो आर्थिक विकासका लागि आप्रवासीहरूलाई सशक्तीकरण परियोजना’का संयोजक ऋषिकेश ढकालका अनुसार इच्छाकामना गाउँपालिकाबाट बाह्य बसाइँसराइभन्दा आन्तरिक तथा मौसमी बसाइँसराइ बढी हुने गरेको छ । सीमित समयका लागि गाउँ छाड्ने र स्थायी रूपमा बसाइँसराइ नगरी बजार क्षेत्रमा बसोबास गर्ने प्रवृत्ति बढिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मौसमी बसाइँसराइ गर्ने अधिकांश श्रमिक औपचारिक सम्झौताविना काम गर्न बाध्य छन् । यसले न्यून ज्याला, असुरक्षित कार्यस्थल, श्रमशोषण तथा ठगीको जोखिम बढाएको साथै सीमापारि रोजगारीका लागि जाने श्रमिक थप असुरक्षित अवस्थामा रहने गरेको बताउनुभयो।
अभिभावकसँगै बसाइँसराइ गर्ने बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा समेत असर पर्ने गरेको ढकालको भनाइ रहेकोछ । यस्तो अवस्थामा बालबालिका श्रमशोषण तथा बेचबिखनको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको शैक्षिक र सामाजिक विकासमा नकारात्मक प्रभाव पर्न सक्ने जानकारी दिनुभयो।
परिवारका सदस्य लामो समयसम्म घरबाहिर रहँदा गाउँमा रहेका बालबालिका तथा वृद्धवृद्धामाथि घरायसी र सामाजिक जिम्मेवारी थपिने जोखिम पनि रहेको बताउदैँ। रोजगारीका लागि बाहिरिने महिलाहरू यौन हिंसा, उत्पीडन र कार्यस्थलमा हुने विभेदको जोखिममा पर्न सक्ने उहाँको भनाइ रहेकोछ ।
फर्वाड नेपालका फिल्ड अफिसर राजु अधिकारीले मौसमी बसाइँसराइका कारण स्थानीय तहमा कृषि तथा अन्य उत्पादनशील कामका लागि श्रमिक अभाव हुन थालेको बताए । यसले स्थानीय उत्पादनमा कमी ल्याउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने सम्भावनालाई कमजोर बनाउने उनले उल्लेख गरे ।
इच्छाकामना गाउँपालिकामा बालबालिकाको शिक्षादीक्षालाई सहज बनाउने उद्देश्यले फिस्लिङ, कुरिनटार र मुग्लिनजस्ता तुलनात्मक रूपमा सुगम क्षेत्रमा बसाइँ सर्ने महिलाहरूको सङ्ख्या पनि उल्लेख्य रहेको अधिकारीले बताउनुभयो । सडक, शिक्षा र स्वास्थ्यजस्ता सुविधाको पहुँच सहज भएकाले ग्रामीण क्षेत्रका परिवार बजार आसपास बसोबास गर्न आकर्षित हुने गरेको उहाँको भनाइ रहेछ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र अधिकारीले सामाजिक विभेद, आर्थिक अभाव तथा शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच नहुनु बसाइँसराइका प्रमुख कारण रहेको बताउनुभयो। प्राकृतिक प्रकोपले समेत मानिसलाई आफ्नो थातथलो छाड्न बाध्य बनाउने गरेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सके बसाइँसराइको बाध्यता कम गर्न सक्नेमा जोड दिनुभयो ।
स्थानीयस्तरमै उपलब्ध सम्भावनाको उपयोग, रोजगारीका अवसर सिर्जना तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सके मौसमी बसाइँसराइबाट उत्पन्न समस्या न्यूनीकरण गर्न सकिने फर्वाड नेपालले जनाएको छ ।