काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनबाट गरेको ठूलो आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।
युक्रेनी अधिकारीका अनुसार आक्रमणबाट आवासीय भवन, औद्योगिक संरचना र ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ। उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रस्थित प्रिलुकीमा पाँचतले आवासीय भवनमा मिसाइल प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ।
राजधानी किभमा पनि चार जनाको मृत्यु भएको बताइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा देशभर करिब १०० जना घाइते भएका छन्।
जेलेन्स्कीले रुसले रातभर ७० वटा मिसाइल र दर्जनौँ ड्रोन प्रहार गरेको बताएका छन्। रुसको रक्षा मन्त्रालयले भने आक्रमण सैन्य–औद्योगिक संरचनालाई लक्षित गरी गरिएको दाबी गरेको छ।